प्रचण्डकै कारण शान्ति प्रक्रिया टुङ्गोमा पुगेन: केपी ओली

काठमाडौं । अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसकेको बताउनुभएको छ ।

आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा ओलीले प्रधानमन्त्री दाहाल शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने कुरामा इमान्दार नदेखिएको बताउनुभयो । प्रधानमन्त्रीले नै हिंसात्मक गतिविधिलाई बढवा दिने काम गरेको उहाँले दाबी गर्नुभयो । परिणाम स्वरूप शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने काम असहज बनेको उहाँको भनाइ छ ।

माओवादी युद्ध सुरु भएको दिनलाई जनयुद्ध दिवसको रूपमा मनाउने प्रधानमन्त्री दाहालको निर्णयले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन थप असहजता थपिएको उहाँले बताउनुभयो ।

महासचिव गुटेरेसले आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताउनुभयो ।