काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध प्रतिस्पर्धी उम्मेदवार सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाउँदै उनले सोमबार रिट निवेदन दायर गरेका हुन् ।श्रेष्ठले बोर्ड अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि २०८० मा छनोटसम्बन्धी प्रक्रिया रद्द गर्ने व्यवस्था नभएको जिकिर गर्दै प्रक्रिया रद्दले कानुनी मान्यता पाउन नसक्ने रिटमा उल्लेख गरेका छन् ।
अध्यक्ष नियुक्ति प्रक्रियाबारे पुनः सूचना प्रकाशन सम्बन्धमा कुनै काम कारबाही भए बदर गरी पाउन उनले माग गरेका छन् । प्रक्रिया रद्द हुनुअघिका कामकारबाहीलाई यथावत राखी उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारको नाम सिफारिस गर्नु साथै सोहीको आधारमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नु/गराउनू भनी विपक्षीको नाममा आदेश माग गरेका छन् ।
यसअघि अध्यक्ष सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा नै सहभागी नभएपछि प्रक्रिया नै रद्द गरेको थियो । समितिले यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले योग्यता पुगेका उम्मेदवारमध्ये तीनभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो । त्यति हुँदाहुँदै सिमितिले प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको हो ।
गत ४ माघ २०८० मा गठित सिफारिस समितिले अध्यक्षमा आवेदन माग गरेपछि १९ जनाले आवेदन दिएका थिए । समितिले तीमध्ये पाँचको नाम सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो । सर्टलिस्टमा परेका पाँच मध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतीकरणका लागि उपस्थित भए ।
तर, बोर्डका अर्का कार्यकारी निर्देशक डा। नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा अनुपस्थित थिए ।