८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाबारे छलफल भइरहेको छ’: पुष्पकमल दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने उद्देश्यका साथ पार्टीमा छलफल भइरहेको बताउनुभएकाे छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले पदाधिकारी बैठकमा ०८४ को चुनाव एक्लै जित्ने योजनाबारे छलफल भइरहेको बताउनुभएकाे हाे । उहाँले अगाडि भन्नुभयाे, ‘यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’१८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा काम गरेको उहाँले दाबी गर्नुभयाे ।

सरकार छाड्दा आफूहरु विजेता जस्तो र सरकारमा जानेहरु हारेकाहरु जस्तो देखिएको भन्दै उहाँले भन्नुभयाे, ‘भ्रष्टहरू मिलेर सरकार बनाएको जनतालाई पनि बुझाउन जरूरी छ ।’