कविता: नचिनिने भएछौ / अगमसिँह गिरी

तिमी ता यहाँ नचिनिने भएछौ ।
गालाका रगतहरू सुकिसकेछन्
आँखाका ज्योति सब हराइसकेछन्
तिमी ता रुँदा-रुँदै निदाएको बालकजस्तो
कठोर कारागारको यातनाभोगी विरक्त बन्दीजस्तो
गाँस खोसिएको बास लुटिएको विह्वल हतभागीजस्तो
कस्तो कस्तो भएछौ,
तिमी ता यहाँ नचिनिने भएछौ ।
अतीत गौरवले धपक्क बलेको अघिको चहकिलो अनुहारमा
ग्लानिका विषाक्त रेखाहरू कोरिएछन्
पहाडका वैशाखी वनमा
तिमी जंगली फूलझै हँसिलो देखिन्थ्यौ
तर अब ता चेहरामा तिम्रा
विषादका काला धर्साहरू कोरिएछन्
चोटमा भुक्नु होइन बरु सहनु सिकेछौ
अब ता अर्कै अर्कैजस्तो भएछौ,
तिमी ता यहाँ नचिनिने भएछौ ।
‘तिमी को हौ’- चिनाउन आएको होइन म
वितेका गौरव- गाथा कहन आएको होइन म
तिम्रा सन्तप्त छातीका पीरहरू उखेल्न आएको होइन म
सजिलै खोसिएको गाँस
हलुकै लुटिएको बास दिलाउन पाएको होइन म
छातीको त्यो गहिरो खोपिल्टा पुर्न आएको होइन म
निर्धा आँशुका धारा हेर्न आएको होइन म
केवल तिमी ‘तिमी’ नै हौ कि चिन्न आएको म
तर, तिमी ता यहाँ नचिनिने भएछौ ।

अगमसिँह गिरी
……………………….
आत्मव्यथा-बाट, २०१६