युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता

युगको उर्दी

संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ !

असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।

 

जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई

गोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई ।

 

वडवानलले रोज्दछ सागर खोँच र खोला रोज्दैन,

संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न ।

 

तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी,

संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती?

 

संकट भोगी मर्नेहरूकै नाममहा संकट खुल्छ

प्रेमी जनको याद बुनेरै प्रेमिकाको जीवन चल्छ ।

 

मानिस तैँले उठनै पर्छ, दुःख संकट भोग्नै पर्छ

युगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ ।

 

 

प्रेम र विवाह

पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै
उसले उसलाई देख्यो ।
पानीसँग गई उसले भन्यो-
“त्यो माछालाई समात्छु;”
आकाशसित गई जोड लगायो-
त्यो चरालाई पक्रन्छु;
महाकालसित गई बिन्ति चढायो-
समयलाई म रोक्छु ।
हुन्न कसैले पनि भनेनन्,
अनि ती दुवैको बिहे भयो ।