कविता: देउता बिक्रीमा

देउता बिक्रीमा”

दशकौं अघि चित्र, मूर्ति  हेरेर

कविता बनाइन्थ्यो

अहिले कविता हेरेर

मूर्ती बनाउन थालेको छु

एकदिन

मूर्तिले चिच्याउँदै भन्यो

रोषी ? मेरो मूर्तिलाई

दर्जनौं कवितामा ढालिस

भो !

अब कविताबाट मलाई

मूर्तिमा नै फर्काइ दे ।

 

अहिले मैले चोला फेरें हजुर

यति बेला म पत्रकार,

बहुलठ्ठी कथाकार,

ब्यंग्य निबन्धकार,

गीतकार,

गजलकारको कूलत त्यागी

कूचिकार र मूर्तिकार भएको छु।

 

के गरौं ख्वामित ?

आफ्नै गरिवीले

पेसा फेर्न बाध्य बनायो

आज दिनभरिको आफ्नै मेहनत

झिना बाहुन औंलाले कुची चलाएँ

हो ! आज म बुद्दुले ४ वटा बुद्द बनाएँ

 

खाडी बस्दा मान्छे बेच्न डर लाग्यो

अहँ ! खाडीले केही नापेन

अहिले देश फिरेको छु

सडकमा कचौरो थाप्न

स्वाभिमानले जाँगर चलाएन

त्यही भएर आजकल

खुलेआम देउता बेच्न

दोबाटोमा पसल थापेको छु

म धर्मात्मा मान्छेको

पापी पेटको सवाल छ हजुर

हो, यतिबेला आफ्नै देशमा

देउता बेच्न थालेको छु ।

 

आउँदाजाँदा पसिदिनुहोस न हजुर

एउटा देउता किनेर

गुन लगाइदिनुहोस

किन कि मेरो देउताले

मलाई बनाउन सकेनन्

मैले नै देउतालाई बनाइदिएँ

फेरि पनि चिच्याएर भन्छु

मेरो देशले झैैं

खाडीमा मान्छे बेच्न सकिन क्यारे

अनि आफैंले देउता बनाएर बेच्न थालें |

रवि रोषी

रानीमहल