राखी गौचनको कवितासंग्रह ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक

कवि एवं गीतकार राखी गौचनको कवितासंग्रह ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक गरिएको छ । शनिबार आयोजित एक कार्यक्रममा साहित्यकारहरू भूपाल राई, मनिषा गौचन, अमर गिरी र दीपक सापकोटाले कवितासंग्रह सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै कवि भूपाल राईले राखीका कवितामा भावनात्मक अनुभूतिको प्रधानता पाइने उल्लेख गरे । ‘यस संग्रहका कविताको केन्द्रमा जाँदा पनि निजी अभिव्यक्तिको स्वर बढी पाइन्छ । त्यसबाहेक समय र समाजलाई गरिएका सम्बोधन पनि सशक्त छ’, राईले भने ।

अर्का वक्ता अमर गिरीले राखीका कविताले समकालीन नेपाली समाजका विसंगतिप्रति प्रहार गर्न सफल रहेको बताए । गिरीले भने, ‘समग्रमा यी कविताहरू समाजप्रति, जीवनप्रति आशा देखाउने कविता हुन् । जसले समयलाई सचेत ढंगले सम्बोधन गरेको छ ।’

राखीका कविता पढ्दा जीवन–दर्शनको गहिरो तहमा पुगिने मनिषा गौचनले बताइन् । ‘यी कविता पोयटिक मेमोयर हुन् । यस संग्रहका कविताहरू प्रेमका विविध आयामलाई सरल तर गहन ढंगले अभिव्यक्त गर्न सफल भएको छ’, गौचनले भनिन् ।

कवि राखीले भने कला, विचार र भावको त्रिकोण मिलेपछि मात्र एउटा सुन्दर कविता बन्न सक्ने विश्वास व्यक्त गरेकी छिन् । ‘हरेक व्यक्तिमा कविता सन्निहित छ । कुनै पनि पदार्थप्रतिको नवीन आयाम र दृष्टिकोण नै कविता हो,’ पुस्तकको भूमिकामा उनले भनेकी छिन् ।

तेत्तीस थान कविता रहेको ‘प्रमिथसको फिलिङ्गो’ इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मूल्य २ सय २९ रुपैयाँ रहेको छ ।