नितु पोखरेलको कवितासंग्रह ‘प्रयास’ लोकार्पण

काठमाडौँ । नितु पोखरेलद्वारा लिखित कविता संग्रह ‘प्रयास’ लोकार्पण भएको छ ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईको उपस्थितिमा ‘प्रयास’को लोकार्पण गरिएको हो ।
लोकार्पणपछि सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले राजनीति र साहित्यको अन्यान्योश्रित सम्बन्ध रहेको बताए । उनले समाजमा यी दुई विषयले एकले अर्कालाई सुधार्न एवम् खबरदारी गर्न भूमिका खेल्ने बताए । एउटा समग्र जीवनको पाटोलाई समेटेको भन्दै कवितासंग्रह प्रकाशनका लागि कवि पोखरेललाई भट्टराईले बधाई दिएका थिए ।
त्यस्तै, कार्यक्रममा विशेष अतिथि रहेका संविधान सभाका सभासद एवम् एमाले नेता रविन कोइरालाले झापाबाट नयाँ सर्जकको जन्म भएको भन्दै कविताले जीवनका संवेगहरुलाई व्यक्त गर्ने बताए ।
त्यस्तै, विशेष अतिथि एवम् प्राज्ञ डा। देवी नेपालले पहिलो कोसिसमा ‘प्रयास’ निकै सान्दर्भिक कृति आएकोमा बधाई दिँदै सफलताको प्रतिक्षा रहेको उल्लेख गरे । उनले ‘प्रयास’मा कवि पोखरेलले वैचारिक र संवेगात्मक विषयको संयोजन गरेको समालोचना गरेका थिए ।
सामान्य कविहरु उमेरले प्रभावित हुने बताउँदै नेपालले विशिष्ट कविहरुले समाजलाई बुझ्ने, अध्ययन, विश्लेषण गर्ने र कवितामा उतार्ने बताए । ‘प्रयास’ त्यसकै एक उदाहरण बनेकोमा प्रशंसा गरेका थिए ।
त्यस्तै, साहित्यकार सुमन वर्षाले पुस्तकमा रहेको ५५ वटा कवितामध्ये धेरैको गहन समालोचना गरेकी थिइन् । जसमा कवितामा महिलाका दुःख, संघर्ष, राजनीतिक व्यंग्य, उत्प्रेरण, कुरीतिमाथि प्रहार लगायत विषय समावेश भएको उनले उल्लेख गरिन् ।
त्यस्तै, विज्ञ डा। मिना उप्रेती, अनन्त प्रकाश वस्ती, कवि विजय चालिसे, कवि ऋषभदेव घिमिरेले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रममा स्रष्टाकी आमा पनि अतिथिकी रुपमा रहेकी थिइन् ।
कवि पोखरेलले ‘प्रयास’ पढ्ने जो कोहीले पनि कहीँ न कहीँ आफूलाई पाउने भन्दै अध्ययनका गर्न आग्रह गरेकी थिइन् । पुस्तक प्रकाशनसम्म आफूलाई हौसला दिने साहित्यकार लगायत, परिवारका सदस्यलाई उनले आभार व्यक्त गरेकी थिइन् । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो ।