काठमाडौँ — कवि मुक्तान थेबाको कवितासंग्रह ‘मासिन्या’ सार्वजनिक भएको छ । काठमाडौं नयाँबजार खुशिबुस्थित थेबाला बुक्स विथ कफि क्याफेमा शनिबार आयोजित कार्यक्रममा कवि थेबाका आस्याङआङी (मामामाइजु) रत्नमान र असलीमाया तामाङले कवितासंग्रह लोकार्पण गरेका हुन् ।
त्यसक्रममा मानवशास्त्री मुक्तसिंह तामाङ, स्रष्टाहरु भूपाल राई, प्रणिका कोयु, उज्ज्वल प्रसाईं, गुरुङ सुशान्त, फूलकुमार बोम्जनलगायत उपस्थित थिए ।
संग्रहमा आदिवासी जनजाति समुदाय तामाङलाई मासिन्याको रुपमा लिँदै तत्कालीन राज्य व्यवस्थाले गर्दै आएको थिचोमिचो, विभेद र उत्पीडन विरुद्धको आवाज उठान भएका छन् । ‘अँध्यारो–उज्यालो’, ‘गाई, गोरु, बहर, बाछा, बाछी’ र ‘आदिवासी पृथ्वी र चोरऔंले शासक’ गरी तीन खण्डमा विभाजित संग्रहमा ५३ वटा कविताहरु छन् । नेपाली कवितामा उन्मुक्त पुस्ता अभियानका अभियन्ता थेबाले कवितासंग्रहलाई आन्दोलनकै एक हिस्साको रुपमा रहेको बताए । ‘जंगबहादुरको मुलुकी ऐनले मासिन्याको रुपमा राखेर हामीमाथि लामो समय दमन र शोषण भयो,’ उनले भने,‘अहिले पनि त्यो उत्पीडनबाट बाहिर आउन सकेका छैनौं । विभिन्नरुपमा हामी शोषित र उत्पीडनमा परिरहेका छौं । त्यसैले यो संग्रह त्यसैको प्रतिरोध हो ।’