काठमाडाैं । नेकपा एमालेका सांसद् रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे चीन भ्रमण उपलब्धिबिहीन भएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् पन्तले प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमण असफल भएकाे बताउनुभयाे ।
प्रधानमन्त्री भ्रमण असफल भएकाे भनेर विज्ञहरुले समेत भनेका बताउँदै उहाँले भन्नुभयाे – ”उहाँकाे चीन भ्रमण अपेक्षाकृत र आशा गरेजस्ताे सफल भएन, उहाँकाे तिर्थयात्रा पनि भयाे, एसियन गेमकाे रमझम पनि हेर्न पाउनुभयाे, तर मुलुकका लागि उहाँकाे चीन भ्रमण तथ्य र प्राप्तिका आधारमा हेर्ने हाे भने असफल भयाे ।’
प्रधानमन्त्री चीन भ्रमणमा कुनै नयाँ सहमति नभएका र पुराना सहमति कार्यान्वयन हुने अवस्था पनि नदेखिएकाे सांसद् पन्तले बताउनुभयाे । प्रधानमन्त्रीकाे भ्रमणमा ठाेस उपलब्धि देखिनुपर्नेमा त्यस हुन नसकेकाे र बीआरआईबारे पनि कुनै सहमति नभएकाे उहाँले बताउनुभयाे ।
पहिला गरिसकेका सहमति कार्यान्वयनमा लैजान धेरैले सुझाव दिएपनि प्रधानमन्त्रीले त्यसमा ध्यान दिन नसकेकाे सांसद् पन्तले बताउनुभयाे । बिआरआईबारे पनि हस्ताक्षर हुन नसकेकाे उहाँले बताउनुभयाे । ‘पहिले भएकाे ४ सयकाे ट्रान्समिसन लाइनलाई २ सय केभिएमा झार्नुभयाे, जे-जे सहमति भएको छ, त्यसमा पहिल्यै भएका सहमति पनि सबै कार्यान्वयन हुने भएनन् र नयाँ त केही पनि भएनन्, ठोस उपलब्धि देखिनुपर्यो नि, मसँग केपी ओलीकाे पालामा भएकाे सहमतिकाे संयुक्त विज्ञप्ति पनि छ, अहिलेकाे पनि छ, उहाँले ३-४ बाटोको कुरा गर्नुभएको थियो, किमाथांका, कोशी करिडोर, पश्चिमको करिडोर त्यो केहीपनि भएन, किमाथांकाबाट ट्रान्समिशन लाइनको कुरा गर्नुभएको थियो त्यो पनि भएन, बीआरआईमा हस्ताक्षर भएन’- सांसद् पन्तले भन्नुभयाे ।
प्रधानमन्त्रीकाे चीन भ्रमण धुमधामको गुमनाम भएको समेत उहाँले बताउनुभयाे । ‘मुख्य कुरा बीआरआईमा हस्ताक्षर गर्नुपर्थ्याे, त्यो केही पनि भएन, त्यसकारण चीन भ्रमण उहाँको गुमनाम भयो, धुमधामको गुमनाम भयो, उपलब्धि केही पनि भएन’- सांसद् पन्तले भन्नुभयाे ।
देशमा चरम महंगी बढ्दा सरकार बेखबर बनेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।