पछिल्ला दिनहरुमा विभिन्न स्थानीय तहहरुले आ–आफ्नो गाउँ–ठाउँ, रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक महत्व, पौराणिक महत्व, कलाकौशल, विकासका गतिविधि, शिक्षा, स्वास्थ्य, कृषि, खानेपाननी आदि विषयहरुलाई गीति श्रव्य–दृष्य माध्यमबाट चिनाउने प्रचलन बढ्दै गएको छ ।
यसै सिलसिलामा कास्कीको पोखरा महानगरपालिकासँगै जोडिएको प्राकृतिक रुपमा अति रमणीय रूपा गाउँपालिकाले पनि त्यस्तै विविधतागत विषयवस्तु बोकेको गीति भिडियो यही फागुन २७ गते पालिकाको ५ औं स्थापना दिवशको अवसर पारेर भव्य समारोहका बिच सार्वजनिक गरेको छ।
रूपामै जन्मिएका चर्चित कलाकार माओत्से गरुङ्ग र ओमप्रकाश गुरुङ्ग सहित रोहन आसिव, ममता अधिकारी र प्रियङ्का सुवेदी लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोमा सर्जक प्रकाश सुवेदीको रचनात्मक निर्देशन, कुमार केसीको नृत्य निर्देशन, निसल पौडेल र पदमराज सुवेदीको छायाङ्कन, निशान घिमिरेको सम्पादन र महेन्द्र सुवेदीको भाषानुवादको भूमिका रहेको छ।
यस भन्दा अगाडि नै दक्षिणकाली नगरपालिका र पनौती नगरपालिकाको परिचयात्मक गीत बनाएर प्रसिद्धि कमाईसकेका गीतकार प्रकाश सुवेदीको गहन अध्ययन र अनुसन्धानमा पालिकाभित्रका ७ वटै वडाहरुमा रहेका विविधतालाई ७ मिनेट १८ सेकेण्ड भित्र समेटेर लेखिएको गीतमा चर्चित सङ्गीतकार वसन्त सापकोटाको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन र सिडी विजय अधिकारी, मेलिना राई, शिरीष देवकोटा, आर सि रिमाल र सङ्गीतकार स्वयं वसन्त सापकोटाको स्वर रहेको छ भने गीतमा आञ्चलिकता र स्थानीय संस्कृति झल्काउन बिचबिचमा कास्कीको सेरोफेरोमा प्रचलित भजन र सोरठीको भाका समेत राखिएको छ।
पालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ्ग, प्रमुख प्रसाशकीय अधिकृत सन्तोष ढुङ्गाना सहित सम्पूर्ण जनप्रतिनीधि र कर्मचारी समेत संलग्न रहेको गीति भिडियोमा शिक्षकहरु र स्थानीयलाई समेत समेटिएको छ।
कास्कीका ८ ओटा ताल मध्ये तेस्रो ठूलो ताल रूपातालको नामबाट नामाकरण गरिएको रूपा गाउँपालिकाको गीतको अवधारणा पालिका अध्यक्ष स्वयं नवराज ओझाले तयार पारेका हुन।