Trending Now

अस्ट्रेलियामा नेपाली चलचित्र  प्रेमगीत–३ प्रदर्शन हुँदै

अस्ट्रेलिया,  अस्ट्रेलियाका प्रमुख सिनेमा हलमा पहिलोपटक नेपाली चलचित्र  रिलिज गरिने भएको छ । नेपाली चलचित्र प्रेमगीत–३   यही शुक्रबार  अस्ट्रेलियाका आठवटै राज्यका करिब दुई दर्जन मुख्य चलचित्र भवनमा एकैसाथ  रिलिज गरिने भएको हो। हिन्दी भाषामा डब गरिएको यो नेपाली चलचित्र अस्ट्रेलियाका सिनेमा घरमा अन्य चलचित्रसँगै प्रदर्शन हुने पहिलो नेपाली चलचित्र बन्नेछ ।

अस्ट्रेलियामा रहेका प्रमुख चलचित्र भवनमध्येका इभेन्ट, भिलेज तथा रिडिङ सिनेमाले यस चलचित्रलाई रिलिज गर्ने तयारी गरेका छन् । ती हलमा प्रेमगीत–३ ले हरेक दिन एउटा शो पाएको पनि बताइएको छ । यदि दर्शकको चाप बढेको खण्डमा सिनेमाले थप शो थप्नेछ । उक्त सिनेमाहलहरूमा यस चलचित्रको पोस्टरले समेत राम्रो स्थान पाएको छ । ठूला राज्यहरू न्यु साउथ वेल्स, भिक्टोरिया तथा क्युन्सल्याण्डका क्रमश: ५, ६ र तीनवटा हलमा यस चलचित्र रिलिज हुँदैछ भने राजधानी सहर क्यानबेराका दुई सिनेमा हलले यस चलचित्रलाई रिलिज गर्ने तयारी गरेका छन् । यस बाहेकका अन्य चार राज्यले एक–एक सिनेमा हलमा प्रेमगीत–३ को शो राखेका छन् ।

‘यो नेपाली चलचित्र, कलाकार र कला संस्कृतिकै लागि अत्यन्तै महत्त्वपूर्ण र गौरव गर्ने समय हो,’ चलचित्र निर्माता दिनेश पोखरेल भन्छन् । उनी हिन्दी भाषामा रिलिज हुने भए पनि सम्पूर्ण रुपले यो चलचित्र नेपालको आफ्नो निर्माण र पहिचान भएकाले यसलाई दर्शकले नेपाली चलचित्रको रुपमा नै बुझ्ने बताए । पोखरेलले यसले नेपालमा राम्रा चलचित्र निर्माण हुँदारहेछन् भनेर अस्ट्रेलियामा जानकारी गराउने मात्र नभएर चलचित्र निर्माणका लागि आवश्यक लोकेसनको समेत प्रचार गर्ने दाबी गरे । ‘यस चलचित्रले विदेशी बजारमा पनि नेपाली चलचित्र रिलिज गर्न सकिन्छ भनेर प्रमाणित मात्र गरेको छैन कि विदेशी बजारसमेत खुला गरिदिएको छ ।’

नेपालमा सफल भनिएको प्रेमगीत चलचित्र सिरिज अन्तर्गत तेस्रो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङले मुख्य भूमिका निभाएका छन् भने सुनील थापा, माओत्से गुरुङ, सन्तोष सेन, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, जीवन भट्टराई, पुस्कर कार्की, प्रेम पुरी, योगिषा खत्री लगायतको अभिनय रहेको छ । चलचित्रलाई स्व छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका छन् ।

Comments are closed.