भोलिदेखि सुरुहुन लागेको नाडा अटो शोको तयारी गरिँदै

काठमाडौँ । भोलिदेखि सुरुहुन लागेको नाडा अटो शो को तयारी यतिबेला भृकुटीमण्डपमा धमाधम हुँदैछ । तीन वर्षपछि हुन लागेको नाडा अटो शो मा आफ्नो आफ्नो ब्रान्डका स्टलको सजावटमा जुटेका छन् ।

काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने उक्त सवारी मेलामा यसपालि दर्जनौँ नयाँ मोडलका इभी सहभागी हुँदैछन् भने इन्धन सवारी साधनको नयाँ मोडल कमै मात्रै देखिनेछन्।

१५औँ संस्करणको नाडा अटो शो २०२३ यही भदौ २६ भोलि देखि ३१ गतेसम्म चल्ने छ। यसैगरी, यो पटक पार्किङ बाहिर अन्य क्षेत्रमा गर्ने व्यवस्था गरिएको र प्रदर्शनीमा सटल बस सञ्चालन हुने छ।

प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यु टावर लगायतका सार्वजनिक पार्किङ स्थलहरूबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिएको आयोजक ले जनाएको छ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू रहने छन्। यसपालि अटो शो को प्रवेश टिकटको मूल्य सामान्य व्यक्तिको लागि २०० रुपैयाँ र विद्यार्थीहरूका लागि भने १५० रुपैयाँ कायम गरिएको छ ।