संविधान कार्यान्वयनमा जाऊँ, जनतालाई निराश नपारौँ : रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले परिकल्पना गरे अनुसारका धेरै कानुन निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार माघे संग्राति एवं माघी पर्वको अवसरमा शितलनिवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले संविधान अनुसारका कानुन छिटो भन्दा छिटो निर्माण हुन जरुरी रहेको बताउनुभयो । ‘संविधान कार्यान्वयनमा जाऊँ, जनताले जे पाइन्छ भनेका छन् आशालाई निराशामा परिणत नगरौँ, देशमा जति निराशाका कुरा आएका छन्, यो कार्यान्वयनको कमीले हो’, पौडेलले भन्नुभयो ।

पौडेलले नेपाली नागरिकको भावना आफूले पनि बुझेको बताउँदै जनता पछि फर्कन नचाहेको बताउनुभयो । जनताले अगाडि बढ्न चाहेकोले संविधानको मर्म अनुसार कानुन बनाएर कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो । ‘पछाडि फर्कन कोही जनता चाहँदैनन्’, पौडेलले भन्नुभयो ।

देशमा संघीय गणतन्त्र र समावेशी लोकतन्त्रलाई सफल पर्नुपर्ने उहाँले बताउनुभयो । यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।