राष्ट्रपति भण्डारीद्वारा सर्जकहरूलाई पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं : नातिकाजी स्मृति समाजले नातकिाजीको सम्झनामा स्थापित विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ।

राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७८’ मा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टा सर्जकलाई सम्मान तथा पुरस्कार वितरण गरेकी थिइन्।

रंगपत्रकार द्वय डब्बु क्षेत्री र कुबेर गिरी ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’बाट सम्मानित भएका छन्। मनबहादुर मुखिया, दीप तुलाधर, दीपा नारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०७८’ प्रदान गरिएको थियो ।

एकनारायण भण्डारी, कालीप्रसाद बास्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७८’ प्रदान गरियो।

देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ प्रदान गरिएको कार्यक्रममा सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७८’, लोक गायिका देवी घर्तीलाई ‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ र रविन कार्की ढलीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ दिइयो।

राष्ट्रपति भण्डारीले नेपालका विविध जाति र उनीहरूको भाषा, संस्कृति, गीत, सङ्गीतको एकता नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरुप भएको बताइन्। नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको उनको धारणा थियो।

‘नेपालको भौगोलिक विविधताको प्रतिनिधित्वस्वरुप बसोबास गर्ने जातिका आफ्नै मौलिक भाषा, संस्कृति, गीत र सङ्गीत रहेको छ‚’ उनले भनिन्‚ ‘नेपाली मौलिक गीत सङ्गीतको जगपुस्ताका रुपमा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठ अग्रणी रहनुभएको छ।’

नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको रहेको चर्चा गरे।

Comments are closed.