प्रमाणपत्र वितरण समारोहमा लडे राष्ट्रपति बाइडेन

काठमाडौं :अमेरिकी राष्ट्रपति जो बाइडेन स्टेजमै लडेका छन्। कोलोराडोमा भएको अमेरिकी एयर फोर्सको प्रमाणपत्र वितरण समारोहमा  लडेका राष्ट्रपति बाइडेनलाई केही नभएको र उनी स्वस्थ रहेको ह्वाइट हाउसले जनाएको छ।

लडे लगत्तै उनलाई तीन जनाले उठाएका थिए भने उठे लगत्तै उनले स्टेजमा राखिएको एउटा सानो कालो ब्यागतर्फ संकेत गरेका थिए।​ ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले बाइडेनले हात मिलाइरहँदा स्टेजमा एउटा स्यान्ड ब्याग रहेको भन्दै ट्विट गरेका छन्।

अन्तिम प्रमाणपत्र वितरण गरेर आफ्नो सिटमा फर्किने क्रममा स्टेजमा राखिएको दुईवटा कालो ब्याग मध्ये एउटामा अल्झिएर  लडेका हुन्। ती दुई ब्याग बाइडेनको सम्बोधनलाई सघाउन राखिएका टेलिप्रोम्पटर अड्याउन प्रयोग गरिएको जनाइएको छ।

लड्नुअघि राष्ट्रपति बाइडन ‘पास आउट’ भएका सबै ९ सय २१ जना ग्रयाजुएटसँग हात मिलाउन करिब डेढ घण्टा निरन्तर उभिएका थिए।  यसअघि पनि एक पटक साइकल चलाउँदै गर्दा लडेका थिए।

८० वर्षीय बाइडेन देशको सबैभन्दा पाको राष्ट्रपति हुन्। उनले आगामी वर्ष हुने निर्वाचनमा दोस्रो कार्यकालका लागि पनि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्।

Comments are closed.