काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिए उनलाई गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीकाअनुसार राति अलि गाह्रो भएर अस्पताल ल्याइएको हो । राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ ।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलबार गंगालालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो । त्यहाँ पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो ।