चिनियाँ राष्ट्रपति सी जिनपिङले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठुलो र सानो देशबीच समान सहअस्तित्व तथा साझा विजयीको नमुना बन्ने बताएका छन् ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सहितको चिनियाँ टोली बीचको शिष्टाचार भेटमा सो कुरा बताएको चिनियाँ सञ्चारमाध्यमले जनाएका हुन् ।
साताव्यापी भ्रमणका लागि शनिवार चीन आइपुगेका प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबिच हाङचौँमा भेट वार्ता भएको छ ।
राष्ट्रपति सीले चीनले चीन तथा नेपालको सम्बन्धमा उच्च महत्त्व दिँदै नेपालसँग विकासको रणनीतिक सम्पर्कलाई सबल पार्दै विभिन्न व्यवहारिक सहयोग आदानप्रदान गर्ने आफूहरुको इच्छा रहेको बताएका थिए ।
देशको शासन र अनुसन्धानसम्बन्धी अनुभव आदानप्रदानलाई सबल पारी सम्बन्धमा नयाँ प्रगति बढाउने चाहना चीनको रहेको समेत सीले जानकारी गराएका छन् ।
प्रधानमन्त्री दाहाल र नेपाली टोली सहित चिनियाँ राष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलको भेटमा प्रधानमन्त्री दाहालले चीनको विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई सुदृढताका साथ र समर्थन रहेको जानकारी गराए ।
प्रधानमन्त्रीको हैसियतमा आफ्नो तेस्रो चीन भ्रमणले नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विषयमा नयाँ शक्ति थपिने विश्वास समेत व्यक्त गरे ।
भेटपछि चिनियाँ समय अनुसार ८ बजे १९ औँ एसियाली खेलकुद प्रतियोगितामा प्रधानमन्त्री दाहाल सहभागी हुने कार्यक्रम छ । प्रतियोगिताको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्नेछन् ।
सो खेलको प्रत्यक्ष प्रसारण चिनियाँ टेलिभिजनहरूले गरिहरेका थिए।