प्राइम सहकारी घोटाला प्रकरण : डेढ अर्ब अपचलनमा ६५ जना प्रतिवादी

पोखरा । पोखराको प्राइम सहकारी घोटाला प्रकरणको मुद्दा अदालत पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञसहित अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पठाइएपछि उक्त मुद्दा कास्की जिल्ला अदालत पुगेको हो ।अहिलेसम्मको अनुसन्धानमा प्राइम सहकारीमा सर्वसाधारणले बचत गरेको डेढ अर्बभन्दा बढी रकम अपचलन भएको पुष्टि भएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेलसमेत ६५ जनालाई प्रतिवादी बनाएर ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ ८५ पैसा बिगो रकम माग दाबीसहित आइतबार कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।
मुद्दामा मंगलबारदेखि थुनछेक बहस सुरु भएको छ । मंगलबार न्यायाधीश रामचन्द्र शर्माको इजलासमा सरकारका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले बहस गरेको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ भने बुधबार पनि निरन्तर बहस हुने अदालतले जनाएको छ ।पहिलो दिन ९ जना प्रतिवादीलाई अदालतमा हाजिर गराइएको छ । गैह्रापाटनमा कार्यालय रहेको प्राइम सहकारी ठगी मुद्दामा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, कर्मचारी, लेखापरीक्षक, नेपाल सरकारका कर्मचारी समेतलाई विपक्षी बनाइएको छ ।
सहकारी ठगीको प्रारम्भिक रिपोर्ट पाएपछि कास्की प्रहरीले जेठ १ गते सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला सहित ८ जनालाई पक्राउ गरेको थियो । सोही दिन बचतकर्तालाई उजुरी दिन आह्वान पनि गरेको थियो । जेठ २० गतेभित्र ९ सय ९३ बचतकर्ताले उजुरी दिएका थिए । सहकारीमा बचत खाता ३ हजार ५ सय ८५ र १ हजार ८ सय ६२ बचतकर्ता रहेका छन् ।
सहकारी रकम अपचलन गरेको अभियोगमा अध्यक्ष शंकर कार्की, सहकारी व्यवस्थापक निरु थापा केसी, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ छन् । कानुनी सल्लाहकार बराल बन्दी प्रत्यक्षीकरण रिटमा तारेखमा छुटेपछि हाल उनी फरार छन् ।
अर्का प्रतिवादी सन्तोष घिमिरेलाई कारागारबाट झिकाइएको छ । घिमिरे पोखराकै मित्रमिलन सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा थिए । प्रहरीले उत्तम मगरलाई पनि थुनछेक बहसमा उपस्थित गराएको थियो । हालसम्म ९ जना उपस्थित भएपनि अन्य ५६ जना प्रतिवादी अझै फरार सुचीमा छन् । अभियोग पत्रमा मुख्य योजनाकारका रूपमा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापा भएको ठहर गरिएको छ । प्रतिवादी बनाइएका ६५ जनामध्ये सबैलाई सहकारी ठगी र केहीलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय रिपोर्टमा छ ।
यो प्रकरणमा सहकारी विभाग काठमाडौँका पूर्व कर्मचारीले रकम लिएको, सहकारीकै खर्चबाट वैदेशिक भ्रमण गएको, सहकारी विभागबाट अनुगमनमा आएका शाखा अधिकृत सन्देशप्रसाद जोशी र नासु कमल पोखरेलले समेत १५ लाख रकम लिएको अभियोग छ ।
गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्रमुख बद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी र राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख सन्तोष घिमिरेले पनि रकम र अन्य सुविधा लिएको अभियोग पत्रमा आरोप छ ।
बद्रीनाथ अधिकारी अहिले गण्डकी प्रदेश नीति तथा योजना आयोगको सचिवका रूपमा कार्यरत छन्, उनी अहिले फरार छन् । पराजुली मित्रमिलन सहकारीको ठगीमा पनि छानबिनकै क्रममा छन् । फरार रहेका ५६ जनै प्रतिवादीलाई पक्राउ गर्न प्रहरीले आफ्नो संरचना परिचालन गरिसकेको कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले जानकारी दिए ।यसअघि पोखरामै कार्यालय रहेका सूर्यदर्शन, शिवशिखर, इमेज, मित्रमिलन, विन्ध्यावासिनी, बलिदानी लगायत सहकारीमा पनि ठुलो रकम अपचलन भएको घटना सार्वजनिक भएको थियो । ती सहकारीका बचतकर्ता पीडितले पनि न्याय पाएका छैनन् । नेपाल सरकारका उच्च तहका कर्मचारीसमेत मुछिएको प्राइम सहकारी ठगी गण्डकी प्रदेशमै सबैभन्दा ठुलो प्रकरण हो ।