प्रधानमन्त्रीको घोषणा: बझाङमा भूकम्पबाट घर भत्किएकालाई तत्कालका लागि ५० हजार, मृतकका परिवारलाई २ लाख

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङका भूकम्प पीडितका साथमा संघीय, प्रदेश र स्थानीय सरकार रहेको बताउनुभएको छ ।

भूकम्प पीडितको अवस्था अवलोकनका लागि बझाङको सदरमुकाम चैनपुर पुग्नुभएका प्रधानमन्त्री दाहालले भूकम्प पीडितको घाउमा मलमपट्टी लगाउन आफूहरू आएको बताउनुभयो । आफूहरू राहत उद्धारका सामाग्री सहित प्रभावित क्षेत्रमा आएको दाहालले सुनाउनुभयो ।

आफूहरू सबैको ध्यान भूकम्प पीडित तर्फ गएको उहाँले बताउनुभयो । राहत, उद्धार र पीडितका व्यवस्थापनमा सरकारको ध्यान गएको उहाँको भनाइ छ ।

गत मंगलबारका  बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ त्यसको तथ्याङ्क सङ्कलन गरी यकिन मूल्याङ्कन गरिने दाहालले बताउनुभयो ।  मूल्याङ्कनको आधारमा सामान्य मर्मत, प्रबलीकरण र पुनर्निर्माण गर्नुपर्ने घरको यकिन तथ्याङ्क निकाली आवश्यक प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैँया उपलब्ध गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहत स्वरूप परिवार सङ्ख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत व्यवस्था गरिनेछ प्रधानमन्त्रीले बताउनुभयो । .

राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन भएको उहाँले बताउनुभयो । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भूकम्पमा परी घाइते भएकाको निःशुल्क उपचार प्रबन्ध मिलाइएको छ उहाँले जानकारी दिनुभयो । भूकम्पले निम्त्याएको पहिरोमा परी मृतक हुनु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गरिने उहाँले बताउनुभयो ।

भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरूको दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाई यस अघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माण काम अगाडि बढाइने उहाँले बताउनुभयो । .

सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल आदि क्षति पुगेका संरचनाको यथाशीघ्र पुनः निर्माण गरिने उहाँले बताउनुभयो ।

हालसालै गएका थुप्रै भूकम्पहरूलाई जोखिमको पूर्व सङ्केतको रूपमा लिँदै ठुलो विपद्को सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आकलन न्यूनीकरण, पूर्व तयारी र पूर्व सूचना प्रणालीको काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । यी कामलाई बझाङ लगायत उच्च जोखिममा रहेका क्षेत्रमा समेत अघि बढाइने उहाँले बताउनुभयो ।