बेइजिङ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका छन् । प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २.३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको छ ।
उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।