प्रधानमन्त्री प्रचण्ड आज युएई जाँदै

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाँदै हुनुहुन्छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) भाग लिन प्रधानमन्धी प्रचण्ड बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएकाे हाे ।

सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले मंसिर १६ गते (डिसेम्बर-२) सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि उहाँ डिसेम्बर १-२ मा हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री प्रचण्ड युएईको ५२औँ युनियन डेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । युएईले आयोजना गर्ने जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड समारोहमा पनि उहाँ सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख र उच्च पदस्थ व्यक्तिसँग साइडलाइन वार्ता पनि गर्नुहुनेछ । प्रधानमन्त्री प्रण्ड मंसिर १७ गते स्वदेश फर्कनुहुनेछ ।