५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डको सन्देश

२५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूले जारी गर्नुभएको सन्देश

‘‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’’ भन्ने मूलनाराका साथ २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशैभरि विविध सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । वि.स. १९९० साल माघ २ गते गएको विनासकारी भूकम्पको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको छ । सर्वप्रथम यस दिवसको सन्दर्भमा सुरक्षित, आधुनिक र भूकम्प प्रतिरोधी संरचना निर्माण, विपदबारे पर्याप्त ज्ञान र पूर्वसूचना एवं आवश्यक पूर्वसतर्कताका निम्ति सम्पूर्ण नेपालीहरूमा हार्दिक अपील गर्दछु ।
वि.सं. २०७२ वैशाख १२ गते गएको महाभूकम्प नेपालको इतिहासमा एउटा अकल्पनीय एवं त्रासदीपूर्ण घटना थियो । त्यसयता सिंगो देशको ध्यान भूकम्प प्रतिरोधी संरचनाको निर्माणका साथै आकस्मिक विपदहरूका सन्दर्भमा पूर्वसचेतनामा केन्द्रित हुँदै आएको छ । पुनर्निर्माण प्राधिकरण नै गठन गरेर भूकम्पबाट क्षतिग्रस्त सरकारी, सामुदायिक संरचना एवं निजी घरहरूको पुनर्निर्माण सरकारको प्राथमिकतामा पर्दै आएको छ । तसर्थ, यस दिवसले आधुनिक, गुणस्तरीय र प्रतिरोधी संरचनाको निर्माण एवं सामाजिक सचेतनाका क्षेत्रमा महत्वपूर्ण सन्देशका साथ अभिप्रेरित गर्ने विश्वास लिएको छु ।
मेरो दोस्रो प्रधानमन्त्रीकालमा पुनर्निर्माणका क्षेत्रमा भएका कामहरू सार्वजनिक गर्ने, त्यसको पारदर्शिता कायम गर्ने, निजी आवास पुनर्निर्माणका लागि दिइँदै आएको अनुदानमा रू. एक लाख थप गर्ने, भूकम्पबाट क्षति भएका आवासहरूको प्रवलीकरणका निम्ति रू. ५० हजार थप गर्ने, राष्ट्रिय सहमति र सहकार्यको वातावरणका साथ पुनर्निर्माणलाई तीव्रता दिने, भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरू दू्रत गतिमा पुनर्निर्माण गर्ने लगायतका महत्वपूर्ण कामहरू गरिएका थिए । यसपटक पुनर्निर्माणको क्षेत्रमा बाँकी रहेका कामहरूको पूर्णताका साथै भूकम्प प्रतिरोधी संरचना, चेतना र व्यवहारमा सिंगो देशलाई लयवद्व बनाउने सरकारको प्राथमिकता हुनेछ ।
अन्त्यमा, भूकम्प प्रतिरोधी संरचनाको निर्माण, भौतिक पूर्वाधारका क्षेत्रमा राज्यको तर्फबाट अवलम्बन गरिएका सबै नीतिगत र कानुनी प्रबन्धहरूको कडाइपूर्वक कार्यान्वयन र पूर्वसचेतनाका क्षेत्रमा आ–आफ्नो क्षेत्रबाट सम्भव योगदानका साथ सरकारसँग हातेमालो गर्न समस्त नेपालीहरूमा हार्दिक अपील गर्दछु, धन्यवाद ।
२ माघ २०७९
पुष्पकमल दाहाल ‘प्रचण्ड’

Comments are closed.