काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६ स्थित एक निजी विद्यालयका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
विवाहेत्तर प्रेम सम्बन्धका कारण स्वर्णकारको हत्या भएको प्रहरीले बताएको छ । २२ वर्षीया राधा गुप्तासहित स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुतलाई सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार राधा र मृतक रुपेशबीच प्रेम सम्बन्ध थियो ।
भारतीय नागरिक चन्दन र अविनै सुकर समूहको सदस्य हो भने राधा गुप्ता मुख्य योजनाकार हुन् । सुटरहरु पनि भारतीय नागरिक हुन् ।
अहिले चार जनै सुटरहरु भने फरार छन् ।
पक्राउ परेकी गुप्ता विगत ३ वर्षदेखि भारत बस्ने विवाहित मनोज गुप्तासँग प्रेम सम्बन्धमा रहेकी थिइन् । उक्त विषयमा नै मनोज र मृतक रुपेशबीच तीव्र विवाद भएको थियो । त्यही झगडामा स्वर्णकारलाई गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरीले अनुसन्धानको निष्कर्ष निकालेको छ ।
सोमबार मध्याह्न साढे १२ बजेतिर स्वर्णकार (गुड्डु) खाजा लिन घरबाट ५ सय मिटरको दूरीमा रहेको रोजबेरी होटलतिर गएका थिए । चाउमिन बोकेर फर्किँदा पौने १ बजेको थियो ।
स्थानीयका अनुसार स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा भएका अज्ञात व्यक्तिले घेरेर उनलाई कम्तीमा ५ राउण्ड गोली हानेका थिए ।
अनुसन्धानमा संलग्न अधिकृतहरूले यसअघि पनि स्वर्णकारमाथि आक्रमणको प्रयास भएको तर प्रहरीसम्म नपुगेको बताएका छन् ।