Trending Now

आगलागीमा परी तीन जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट     

 

काठमाडौं, २६ पुस

बर्दिया, ठाकुरबाबा नगरपालिका-९ बन्तरिया बस्ने ४७ वर्षीय रामचरण चौधरीको आफ्नै घरको आँगनमा आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्किएर जल्दा मंगलबार बिहान मृत्यु भएको छ ।

अर्घाखाँची, सितगंगा नगरपालिका-८ लाहापे बस्ने ६५ वर्षीय तुलसा सुनारको आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्किएर जल्दा मंगलबार बिहान मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

बागलुङ, जैमिनी नगरपालिका-५ ठुल्ढुङगा बस्ने ५० वर्षीय धन बहादुर नेपालीको आगलागीमा जलेर गएराति मृत्यु भएको छ । आफ्नो घरबाट करिब १ किलोमिटर टाढा मानिस नबस्ने कच्ची धन्सारमा सुतेको अवस्थमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो ।

उदयपुर, चौदण्डीगढी नगरपालिका-४ आमलचौरी बस्ने वीरजंग राईको घरमा खाना पकाउनको लागि आगो बाल्ने क्रममा मंगलबार बिहान आगलागी हुँदा लत्ताकपडा, सुन र चाँदीका विभिन्न गहना लगायतका सामानहरू समेत करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.