काठमाडौँ — अनुसन्धाता दिलेन्द्र मुकारुङ राईको ‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ कृति प्रकाशित भएको छ । प्रदेश–१ मा बसोबास गर्ने जातजाति भाषाभाषीको परम्परामा गाइने लोकभाषाको संकलन तथा विश्लेषण गरिएको पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त कृति प्रकाशित गरेको हो ।
निश्चित भूगोलभित्र बसोबास गर्ने जातजातिको चालचलन, भाषा, संस्कृति, मूल्यमान्यता, मनोरञ्जनकलाको अभिव्यक्ति नै लोकभाका हुन् । प्रतिष्ठान लोकवार्ता विभाग प्रमुख प्राज्ञ देवी नेपालले यस कृतिमा राई, लिम्बु, सुनुवार, तामाङ, शेर्पा, लाप्चा, मगर, दमाई, गन्दर्भ, जोगी, खसआर्य आदि विविध जातिसँग सम्बन्धित ६४ वटा मौलिक भाकाहरू रहेको बताए । ‘त्यसैगरी पूर्वी तराईमा पाइने जातजातिसँग सम्बन्धित २८ लोकभाकाहरू र पूर्वी हिमाली क्षेत्रमा पाइने विविध जातजातिको केही लोकभाका समावेश रहेका छन्,’ उनले भने ।
पुस्तकको पहिलो खण्डमा ‘पूर्वी नेपालको भौगोलिक तथा सामाजिक परिचय’ समेटिएको छ । दोस्रो खण्डमा पूर्वी नेपालका मौलिक लोकभाकाहरू खोज प्रस्तुत गरिएको छ । जसमा लोकगीतको परिचय, प्रतिनिधि लोकभाकाहरू, आदिवासी जनजातिका लोकभाकाहरू, खसआर्य हिन्दु समुदायका लोकभाकाहरू, अरुण उपत्यकामा प्रचलित लोकभाकाहरू तथा प्रतिनिधि लोकगायकहरूको नाम उल्लेख गरिएको छ ।
तेस्रो खण्डमा पूर्वी भेगका लोकभाकाहरूको विश्लेषण गरिएका छन् । यस्तै चौथो खण्डमा पूर्वी नेपालको लोकभाकाहरूको विशेषता केलाइएको छ । मौलिक लोकभाकाहरूको भाषिक तथा सांस्कृतिक महत्व, प्रस्तुति शैली, अवसर, स्थान, बाजा, नाच, शृंगार, रैथाने परिवेशको प्रतिबिम्ब उल्लेख गरिएको छ ।
अनुसन्धाता मुकारुङको यसअघि ‘नियामाबुङ’ गीतिसंग्रह, ‘बर रोपी छायाँ’ गीति एल्बमलगायत कृति प्रकाशित छन् ।