उपत्यकामा भोलिबाट सार्वजनिक गाडी नचलाउने यातायात मजदुरको घोषणा

काठमाडौँ । यातायात मजुदरहरुले मंगलबारदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार साँझ यातायात मजुदरका तीन ओटा संगठनले संयुक्त विज्ञप्ती निकालेर यस्तो घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले गाडी नचलाउने घोषणा गरेका हुन्।

ट्राफिक प्रहरीले ऐनविपरीत १५ सय रुपैयाँ जरिवाना असुलेको, चालकहरूको अनुमतिपत्र जथाभावी निलम्बन गरेको, प्रदूषणका नाममा मनोमानी रकम उठाएको र अनावश्यक दुःख दिएको भन्दै उनीहरुले सोमबार आन्दोलन गरेका थिए ।

आन्दोलनकै क्रममा झडप हुँदा उनीहरुले बालाजु बाइपास सडकमा एउटा प्रहरीको भ्यान र अर्को एक गाडीमा समेत आगजनी गरेका थिए । उनीहरुको माग बारे सोमबार दिउँसो यातायात मन्त्रालयमा बार्ता समेत भएको थियो । तर, वार्तामा आफूहरुको माग सम्बोधन नभएको उनीहरुको गुनासो छ । गंगोबु नयाँ बसपार्क सञ्चालन गर्ने ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दीको शैलीमा ३० जनाजति मिलेर आफूहरुमाथि आक्रमण गरेको भन्दै उनीहरु थप आन्दोलित भएका हुन् ।

Comments are closed.