रास्वपाले साथ् दिने भएपछी पुष्कमल दाहाल प्रचण्डको राजीनामा तत्काललाई टर्यो

काठमाडौं । रास्वपाका अध्यक्ष रवि लामिछानेले काँध थाप्ने भएपछि प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डको राजीनामा तत्काललाई टरेको छ । प्रधानमन्त्री निकट स्रोतले भन्यो, राजीनामाको सम्भावनामा पनि विचार भइरहेको थियो, तर, तत्काललाई टरेको छ ।

स्रोतका अनुसार कांग्रेस र एमाले विरुद्ध प्रचण्ड र रवि एक ठाउँ उभिने सहमति पनि भएको छ ।
कांग्रेस एमालेले संविधान संशोधन गरेर साना पार्टीलाई सखाप पार्ने नीति लिएको, साना पार्टीलाई कहिल्यै सरकारमा पुग्न नदिने योजना बनाएको भन्दै प्रचण्डले रविलाई कन्भिन्स गर्नुभएको बुझिएको छ । आज बिहान प्रचण्ड, रवि र रविका मन्त्रीहरु बीच भेट भएको थियो । राजीनामा दिन गएको रास्वपाका मन्त्री टोलीले राजीनामा दिने भन्दा पदमै बसिरहने इच्छा देखाएको थियो । यो इच्छा बुझेपछि प्रचण्डले ‘तपाईंंहरु साथ दिनुहुन्छ भने म सरकार टिकाउन सक्छु, संसद् फेस गरेर पनि सरकार जोगाउन सक्छु’ भन्नुभएको थियो ।

स्रोत अनुसार रविले राजीनामा दिन आफूहरुलाई कडा दवाब आइरहेको बताउनुभएको थियो तर त्यस्तो दवाब कताबाट आएको हो भन्ने खुलाउनुभएन ।

प्रचण्ड र रवि बीच सरकार टिकाउन कांग्रेस र एमालेसँग वार्ता गर्ने सहमति पनि भएको छ ।

एमालेले सरकार त्यागिसकेको छ भने रास्वपाले पनि सरकार त्याग्ने भनिएको थियो । रवि लामिछाने सरकारमै रहिरहने भएपछि प्रचण्डको आँट बढेको छ । स्रोत अनुसार अशोक राई नेतृत्वको जसपालाई पनि प्रचण्ड र रविले फकाएर मन्त्रिमण्डलमा टिकाइराख्ने रणनीति अपनाइएको छ । जसपाले पनि मन्त्रिमण्डल त्याग्ने भनिसकेको छ । रास्वपामाथि जस्तै जसपामाथि प्रचण्डको जादूले काम गर्ने नगर्ने आज दिनभरीमा टुंगो लाग्ने भएको छ ।

प्रचण्डलाई उहाँ निकट केही प्रभावशाली कानुनविद्हरुले कानूनी र संवैधानिक रुपमा पद टिकाउन सकिने सम्भावना नरहेकाले राजीनामा दिन सुझाएका थिए । सबै पार्टीले सरकार त्याग्ने भएपछि प्रचण्डले राजीनामाको विकल्पमा छलफल पनि थाल्नुभएको थियो । तर, अब भने विश्वासको मत लिने ३० दिनको समयावधीसम्म उपायको खोजी गर्ने रणनीति प्रचण्डले अपनाउनुभएको छ ।

प्रचण्डले राजीनामा नदिने सम्भावना बढेर गएपछि कांग्रेस र एमालेले दवाब बढाउने भएका छन् ।