पुटिनले जिते ८७.२८ प्रतिशत मतका साथ चुनाव, विश्व नेताहरुबाट बधाई

रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले देशको राष्ट्रपतीय निर्वाचनमा ८७.२८ प्रतिशत मत प्राप्त गरी ठूलो जित हासिल गरेको रुसी केन्द्रीय निर्वाचन आयोग (सीईसी)ले जनाएको छ । सोमबार साँझ सबै मतगणना सकिएपछि पुटिनले ८७.२८ प्रतिशत मतका साथ चुनाव जितेका हुन् ।
कम्युनिष्ट पार्टीका उम्मेदवार निकोलाई खारितोनोभले ४.३१ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभयो भने न्यु पिपुल्स पार्टीका प्रतिनिधि भ्लादिस्लाव दाभान्कोभले ३.८५ प्रतिशत मत प्राप्त गरे । लिबरल डेमोक्र्याटिक पार्टीका प्रमुख लियोनिद स्लुत्स्की ३.२ प्रतिशतका साथ चौथो स्थानमा रहे । रुसमा तीन दिने राष्ट्रपतीय निर्वाचन शुक्रबारबाट शुरु भएको थियो ।
रुसको राष्ट्रपति निर्वाचन नियमावलीअनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्दछ । सीईसीकी प्रमुख एला पाम्फिलोभाले ७७.४४ प्रतिशत मतदान भएको देशको आधुनिक इतिहासमा रेकर्ड उच्च रहेको बताए । सोमवार राष्ट्रपतीय निर्वाचनमा पुटिनको जितपछि विश्व नेताहरूले बधाई दिन थालेका छन् । न्युज एजेन्सी