अविरल वर्षा र बाढी: ७ जलविद्युत आयोजनाको उत्पादन बन्द, देशभर उच्च सतर्कता

काठमाडौं। अविरल वर्षासँगै खोलानालाको जलस्तर उच्च भएपछि जलविद्युत आयोजनाहरु जोखिममा परेका छन्। खोलानालामा आएको बाढीलाई ध्यानमा राख्दै माथिल्लो तामाकोसीसहित निजी क्षेत्रका ७ आयोजना बन्द गरिएका छन्। बाढीले पूर्वाधारमा पर्न सक्ने क्षतिविरुद्ध सावधानी अपनाउँदा ६४० मेगावाट बराबरको ऊर्जा उत्पादन ठप्प भएको छ।नेपाल विद्युत प्राधिकरण स्रोतका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसी शुक्रबार राति १:४३ बजे र ६० मेगावाटको सुनकोसी १०:४६ बजे बन्द गरिएका हुन्। अधिकांश आयोजना नदीको बहावमा आधारित भएकाले अविरल वर्षासँगै क्षतिको जोखिम उच्च भएको हो। क्षति हुन नदिन देशभरका आयोजनाहरुमा सतर्कता अपनाइएको छ।
यस्तै शनिबार बिहानदेखि ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना बन्द गरिएको छ। बाढीको जोखिम उच्च भएपछि विभिन्न आयोजनाहरुमा सतर्कता अपनाइएको छ।
बाढीका कारण ८६ मेगावाटको सोलु दूधकोसीबाट ५० मेगावाट, लिखु-१ बाट४७ मेगावाट, लिखु-२ बाट २९ मेगावाट, मध्य तमोरबाट ३८ मेगावाट, मोदीबाट ७, त्रिशूलीबाट ६, देवीघाटबाट ५ मेगावाट विद्युत उत्पादन बइरहेको छ। परिस्थिति असहज भएपछि आयोजनाहरुको उत्पादन घटाइएका छन्।
लगातार वर्षा भइरहँदा खपतसँगै विद्युत माग पनि घटेको छ। माग घटेका कारण लोड डिमान्ड पुर्याउन प्राधिकरणलाई गाह्रो परेको छैन। आयोजनाहरुमा सतर्कता अपनाउँदै धमाधम उत्पादन बन्द गरिँदा निर्यातका लागि बिजुली घटे पनि आन्तरिक माग धान्न पर्याप्त रहेको प्राधिकरण स्रोतले जनाएको छ।