रथी सिग्देलको कीर्ते नागरिकता प्रकरण संसद्सम्म

काठमाडौं । नेपाल सेनामा नेतृत्व परिवर्तनको मिति नजिकिदै गर्दा रथी अशोकराज सिग्देलको जन्ममिति कीर्ते प्रकरण पेचिलो बन्दै गएको छ ।सिग्देलमाथि छानविनका लागि संसदमा समेत कुरा उठेको छ । आम जनता पार्टीका सांसद प्रभु शाहले शुक्रबार संसदमा बोल्दै सिग्देलमाथि छानविनको माग गरेका हुन् ।उनको दुई वटा नागरिकता रहेको विवरण प्रमाणसहित मिडियामा आएको भन्दै यसमा सरकार मौन बस्न नमिल्ने भन्दै रक्षामन्त्रीसँग समेत यसको जवाफ माग गरेका छन् । प्रधानसेनापतिमाथि समेत यस विषयको नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाई छ ।‘सेनाको विषयमा विवादित विषयहरु बाहिर आइरहँदा सम्बन्धित निकायले स्पष्ट किन गर्दैन ?’ उनले प्रश्न गरे,‘देशको रक्षा मन्त्रीले यस विषयमा जवाफ दिनुपर्छ । देशको सम्मानित संस्थामाथि प्रश्न उठ्दा रक्षामन्त्री चुप लागेर बस्न मिल्दैन ।’
रथी सिग्देलका कारण सिंगो नेपाली सेना बदनाम भइरहेको छ । उनले जन्ममिति सच्याएर नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्र सच्याएको प्रमाणसहितका विवरण बाहिर आएका छन् ।तर, पनि सेनाले उनकै सिग्देललाई भावी प्रधानसेनापतिका रुपमा अघि बढाएपछि सेनामाथि सर्वत्र प्रश्न उठेको छ । यसले सिंगो संगठन नै बदनाम हुँदै गएको भन्दै छानविनको माग सेनाभित्रै पनि उठ्न थालेको छ ।
के हो सिग्देलको विवाद ?
गृहमन्त्रालयदेखि राष्ट्रपति कार्यालयसम्म रथी सिग्देलको नागरिकता तथा शैक्षिक प्रमाणपत्रमा जन्ममिति हेरफेर गरिएको प्रमाणसहित उजुरी परेपछि छानविन भइरहेको छ । सिग्देलको वास्तविक जन्ममिति २०२१–१२– १९ भएकोमा कीर्ते गरेर २०२३–१०–१९ बनाइएको कागजपत्रहरु छन् ।
रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटमा बसाई सरेको कागजपत्र बनाएर नागरिकताको प्रतिलिपि लिएका थिए ।त्यसरी प्रतिलिपि बनाउँदा उमेर घटाइएको थियो । जन्म मिति कीर्ते गर्नकै लागि उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएको स्रोत बताउँछ रुपन्देहीका मान्छेले जाजरकोटमा गएर प्रतिलिपि बनाउनुमै गलत नियत प्रष्ट देखिन्छ ।
सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रस्ट देखिन्छ ।सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए । त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ ।नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ ।
जसअनुसार उनले यसअघि नै अवकाश पाइसक्ने अवस्था छ ।उनको नागरिकता नम्बर समेत फरक फरक छन् भने दुई वटै नागरिकता प्रयोग गरिरहेका छन् । प्रथम प्रतिलिपिको नम्बर ११३१ रहेको छ । जुन नागरिकता राष्ट्रिय परिचयपत्र बनाउँदा प्रयोग भएको छैन ।
अर्काेतर्फ विभिन्न कागजपत्रमा उनको जन्ममिति चार थरी भेटिएको छ । २०४० सालमा उनले उमेर १७ वर्ष भनेर नागरिकता लिएका थिए । त्यतीबेला जन्ममिति नराखी उमेर राख्ने चलन थियो ।यस्तो अवस्थामा नागरिकता लिएको मितिकै आधारमा जन्ममिति तय हुन्छ । जसअनुसार उनको २०२३ साल असोज ९ गते जन्ममिति हुन्छ ।त्यसको १८ वर्षपछि उनले जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकताको प्रतिलिपि निकालेका थिए । पहिलो नागरिकता हराएको भन्दै उनले सो प्रतिलिपि निकालेका हुन । जसमा पहिलो पटक नागरिकता लिएको मिति नै कीर्ते गरिएको छ ।
२०४०/०४/२९ मा पहिलोपटक नागरिकता लिइएको भनिएको छ तर जन्ममिति भने २०२३/१०/१९ उल्लेख गरिएको छ । रुपन्देहीको मान्छे जाजरकोटमा बसाई सरेर नागरिकता बनाउनु र जन्ममिति पनि हेरफेर हुनुले नियोजित भएको भन्दै हाल विभिन्न निकायले छानविन गरिरहेका छन् ।उनका शैक्षिक प्रमाणपत्रहरूमा जन्ममिति १९ चैत २०२१ रहेको छ । पछि सरकारी ढड्डाहरुमै जन्ममिति सच्याएको प्रष्ट देखिन्छ । सेनाको भर्नामा उमेरहद कटेपछि यसरी उमेर नै सच्याइएको आशंका गरिएको छ ।
यस्तै काण्डमा यसअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि राजीनामा दिन बाध्य भएका थिए ।विवादास्पद व्यक्तिलाई गौरवशाली संगठनको नेतृत्व सुम्पदा आगामी दिनमा सेनाको गरिमा खस्कने सैनिक अधिकारीको चिन्ता छ ।नेपाली सेनामा आगामी २४ भदौमा नेतृत्व परिवर्तन हुँदैछ । त्यसअघि नै सिग्देलको विषयमा विस्तृत छानविन गर्नुपर्ने दबाब सेना र सरकारमाथि बढ्दै गएको छ ।