बिराटनगरको ऐतिहासिक रथयात्रा आज, कोशीमा बिदा

बिराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा आज राधाकृष्ण निकालिँदै छ । दक्षिण एसियाकै ठूलो भनिने राधाकृष्ण रथयात्रामा सहभागी हुनका लागि लाखौँको सङ्ख्यामा भक्तजनको सहभागिता हुने गरेको छ ।

रथयात्रामा सहभागी हुनका लागि भारतका विभिन्न स्थानबाट भक्तजन विराटनगरमा भेला हुने गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राका लागि प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट सुरु भएको थियो । सो घट यात्रालाई अहिले राधाकृष्ण रथ यात्राका रूपमा मनाउने गरिएको छ छ । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । यस पटक विराटनगरमा निकालिने खटको ९३ औँ र रथको ५६ औँ संस्करण हो ।

विराटनगर महानगरपालिका-१ स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीसहितको रथ निकालिन्छ । रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्ने छ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैन, मेन रोड, ट्राफिक चोक, रोड शेष चोक, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

रथ यात्रा आज दिउँसो साढे ३ बजे राधाकृष्ण मन्दिरदेखि सुरु हुने आयोजकले जनाएको छ । राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । सादा पोसाकका र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । प्रहरीले करिब १ महिना अघिदेखि नै रथयात्रा लक्षित सुरक्षा तयारी थालेको थियो ।

बिराटनगरको रथ यात्रालाई आधार मनाएर अहिले कोशी प्रदेशका विभिन्न सहरहरूमा पनि राधाकृष्ण रथ यात्रा निकाल्ने गरिएको छ । बिराटनगरको सिको गर्दै इटहरी दुहबी विराट चोक लगायतका सहरमा पनि आजै रथ यात्रा निकाल्न थालिएको छ ।