Trending Now

राष्ट्रपतिको उपस्थितिमा देखाइयो विभिन्न रत्न जडित रातो मच्छिन्द्रनाथको भोटो

काठमाडौँ ।भोटो जात्रा अर्थात प्वाकलं जात्रा बुंग द्द: जसलाई रक्तलोकित्सर्व अर्थात रातो मच्छिन्द्रनाथ पनि भनिन्छ। वर्षा र सहकालका देवता मानिने  उक्त रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौँमा सदियौँ देखि मनाईँदै आईएको छ। नेपाल संवतको सातौँ महिना बछल्ला शुक्ल पक्षको चौँथो तिथिमा यो जात्रा पर्दछ।ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शासन गरेका नरेन्द्रदेवको पाला देखि यो जात्रा मनाईने प्रचलन रहेको ईतिहासमा छ।

आज यहि भोटे जात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा देखाइएको छ ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू सहभागी थिए । भोटो जात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।

हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले ‘भोटो कसको हो ?’ भनी देखाउने गरेका छन् । त्यत्ति मात्र नभएर यदि प्रमाण सहित आएमा भोटो उसैलाई दिनुपर्छ भन्ने मान्यता पनि रहिआएको छ ।

भोटो जात्राको कथा

किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । उक्त दम्पती नागहरूका राजा कर्काेटक नागको जोडी थियो । एक पटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारी दुवै टौदह पुगे ।

वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नाग नागिनी ज्यादै खुसी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् ।

पाटनमा त्यसअघि मत्स्येन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मत्स्येन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपुर्‍याउँदा उपत्यकावासी र भूतप्रेतहरू पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै, झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले मानेन । दुवैका बीच ठुलो झगडा भयो । राजा गुणकामदेव पनि मत्स्येन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठुलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए ।

वैद्यले राजासामु ‘महाराज मलाई कर्काेटक नागले दिएको भोटो यसले चोर्‍यो’ भने । भूतले भोटो मकै बारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रूपमा मत्स्येन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ ।

प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्काेटक नागलाई भेटे । नागले आफू पनि मान्छेको रूप लिई सेतो लुगा लगाएर मत्स्येन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । ‘म आउँदा हुरी चल्नेछ । म अरूभन्दा अग्लो पनि देखिनेछु’, कर्काेटक नागले भने ।

त्यस समय जावलाखेलमा मत्स्येन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए । राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो तर, वैद्यले हुलमा अरूभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मत्स्येन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर, साक्षी प्रमाणसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ ।

यसरी, हरेक वर्ष रातो मच्छिन्द्रनाथको जात्राको चौथो दिन देशको सम्माननीय व्यक्तिको उपस्थितिमा भोटो देखाउने परम्परा आजसम्म चलिआएको छ। नेपालमा राजतन्त्र हुञ्जेल राजाको उपस्थितिमा र राजतन्त्र हटी गणतन्त्र कायम भएपछि राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइँदै आएको छ ।

Comments are closed.