युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक पर्दा देश र जनताका लागि क्रान्तिको बाटो अपनाउनु पर्ने बताउनुभएकाे छ ।
सोमबार युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनुपर्ने भन्दै युगकविका रचनाहरुले युवाहरु क्रान्तिमा होमिन मद्दत गरेको बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘जसरी नेपाल–अग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ । युवाहरु चम्किनुपर्छ । सिद्धिचरण मेरो पनि गुरु हो । उहाँबाट म अति प्रभावित छु । उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरु क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।’
युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उहाँको भनाइ थियो ।
युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद एक लाखसहित प्रदान गरियो । युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की नगद रु ४० हजारसहित पुरस्कृत गरिएको छ ।

सोही समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको छ ।