सिर्जना अभियान समाजको आयोजनामा भक्तपुरमा लघुकथाका सर्जक सुरेन्द्रलाल भुजूको ‘एक मुठी माटो’ लघुकथासङ्ग्रह सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार किशोर पहाडीले सो कृति सार्वजनिक गर्दै लघुकथा आजको स्थितिमा आइपुग्नुमा त्यति बेलामा बान्की, आँखीझ्याल जस्ता साना पत्रिकाको भूमिका रहेको बताउनुभयो ।
कथाकार धुव्र मधिकर्मीले रचनामा हुने विशेषता र कमजोरीबाट नै स्रष्टाले सिक्दै जाने हो भन्दै यही समाजकै विषयलाई स्रष्टा भुजूले कथाको विषय बनाएका छन् भन्नुभयो । कृतिबारे बोल्दै डा. शेखरकुमार श्रेष्ठले संग्रहमा भएका स्रष्टा भुजूका कतिपय लघुकथाहरु तार्किक र मर्मस्पर्शी रहेको बताउँदै भाइरल र यो शहरको कथा जस्ता लघुकथाले हाम्रो समाजको यथार्थ चित्रलाई राम्रोसित प्रस्तुत गरेका छन् भन्नुभयो ।
अर्का समीक्षक डा. हिमलाल श्रेष्ठले स्रष्टा सुरेन्द्रलालका लघुकथाहरुलाई सामाजिक, आर्थिक, राजनीतिक र नारी विषयमा अध्ययन गर्न सकिने बताउनुभयो । कृतिका स्रष्टा सुरेन्द्रलाल भुजूले आफूले देखेको समाजलाई लघुकथामा प्रस्तुत गर्ने प्रयास गरेको बताउनुभयो । समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा लघुकथा समाजका उपाध्यक्ष तुलसीहरि कोइराला, कवि रामगोपाल आशुतोष र कथाकार महेन्द्रगोपाल कर्माचार्यले बोल्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिबहादुर थापा, सयात्राकार हरि थापा, कवि महेश प्रसाइँ, स्रष्टाहरु तिलक प्रकाश, त्रिरत्न शाक्य, धीरकुमार श्रेष्ठ, तुलसीहरि कोइराला, रत्न प्रजापति, श्याम आशा, हरिगोविन्द भोमी, मन्जु ज्ञवाली, हरिकृष्ण बखुन्छेँ, मनीषकुमार शर्मा, शशी आचार्य लगायत विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो । सिर्जना अभियान समाजले प्रकाशित गरेको सो पुस्तकमा समसामयिक विषयमा लेखिएका बयालीसवटा लघुकथा संग्रहित छन् । पुस्तकमा डा.शेखरकुमार श्रेष्ठ र खेमराज पोखरेलले समीक्षात्मक भूमिका लेखेका छन् ।