फ्राइडे रिलिज: आज बाट नेपाली फिल्म ‘हल्कारा’ प्रदर्शनमा

काठमाडौँ । आज शुक्रबारबाट नेपाली फिल्म ‘हल्कारा’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै आएको फिल्मले सिंगल प्रदर्शनको अवसर पाएको छ । यद्यपि देशभरका सबै फिल्म हल ‘हल्कारा’ ले भने पाएको छैन । केही साता अगाडि प्रदर्शनमा आएको ‘जारी’ र केही विदेशी फिल्मले पनि धेरै हल कब्जा गरेको छ ।  ‘हल्कारा’ चिट्ठी पुर्याउने एक ब्यक्तिको कथामा बनेको फिल्म हो । मोबाइल र इन्टरनेटको युगभन्दा अगाडि नेपालमा सन्देश आदान–प्रदानका लागि चिट्ठी पठाउने चलन थियो । त्यही कथामा फिल्म बनेको हो ।

लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य भूमिका छ । त्यस्तै, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, स्वर्गीय दीपक क्षेत्री लगायतको फिल्ममा अभिनय छ । प्रदर्शनपूर्व काठमाडौंमा फिल्मको प्रिमियर गरिएको थियो । प्रिमिएरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया बटुलेको छ ।

फिल्मबाट अमेरिकामा आयोजित वल्र्डफेस्ट ह्युस्टन इन्टरनेशनल फेस्टिभलमा महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड दिलाउनुको साथै उत्कृष्ट फिल्मको अवार्ड पनि जितेको थियो । कालीपार स्टुडियोले आइसफल प्रोडक्सनको सहकार्यमा निर्माण गरेको फिल्ममा अभिनेता महेश हुलाकी (हल्कारा) बनेका छन् । फिल्मले राम्रो दर्शक पाउने अपेक्षा निर्माण युनिटको छ ।

Comments are closed.