हिमाल सागरको ‘न मैले लेखें, न उनले लेखिन’ सार्वजनिक

काठमाडौं- चर्चित गायक हिमाल सागरको स्वर र संगीतमा विसं २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश सुपरहिट गीत ‘न मैले लेखें, न उनले लेखिन’को नयाँ भर्सन म्युजिक फिल्म तयार गरिएको छ ।

शनिबार काठमाडौं जमलस्थित विश्वज्योति सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै गायक हिमाल सागरले नै तयार गरेको उक्त गीतको अडियो र म्युजिक फिल्म आधुनिक स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको हो ।

सार्वजनिक म्युजिक फिल्ममा मानस केसीको शब्द रहेको छ भने योगेश काजी शाहले एरेञ्ज गरेका हुन् । यही गीतमार्फत स्थापित भएका गायक हिमाल सागरले तात्कालिन समयमा एक लाख पचास हजारभन्दा बढी अडियो क्यासेट बिक्री भएको जानकारी दिए ।

‘कन्सर्टमा म देश होस् वा विदेश सबैभन्दा बढी गीत यही गाएको छु । यो गीतलाई अहिलेको मर्म र भाव अनुसार तयार गरेको छु । पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायन थपिएको छ, एरेञ्जमा फरक गरेका छौं, यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ,’ गायक हिमालले भने ।

पहिलो गीत नै सफल भएपछि गायक हिमाल सागरले ‘मेरो माया मारेपछि’,’तिमीले माया नगरे’,’मेरो मनमा आगो लाउने को’,’तीन ढिके फूली लाएर आइछौं’,’कल्लाई थाहा छौं’लगायत हिट गीत सार्वजनिक गरिसकेका छन् । सात वटा एकल एल्बम सार्वजनिक गरिसकेका गायक हिमाल सागरले सांगीतिक कार्यक्रमका लागि ६५ वटाभन्दा बढी देश भ्रमण गरिसकेका छन् ।

गीतमा निकेश खड्काको निर्देशन, धीरजजंग शाहको छायांकन, विकास धमलाको सम्पादन रहेको छ । पहिलो भिडियोभन्दा फरक र सरल प्रस्तुती नयाँ गीत तयार गरिएको निर्देशक खड्काले बताए ।

निर्देशक खड्का यसअगाडि गायक यश कुमारको ‘हिजो अर्कैसँग देखे’ र ‘तिम्रो मन बदलिए छ’, गायक प्रमोद निर्वाणको ‘किन यसरी’, गायक दीपक लिम्बूको ‘सागर बरू सुकेर गईजाला’ बोलको गीतहरूको रीमेक भर्सनको भिडियो तयार गरिसकेका छन् ।

भुवन गिरी, प्रज्वल गिरी र रुपेश थापाद्वारा निर्मित ‘न मैले लेखें, न उनले लेखिन’ बोल रहेको गीतको भिडियो नेपाल रिदम रेकर्ड्स (एनआरआर) बाट सार्वजनिक गरिएको छ ।