रिलायन्स स्पिनिङ मिल्सको आइपीओ असार २७ देखि, प्रति कित्ता मूल्य ८२०.८० रुपैयाँ

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले बुकबिल्डिङ विधिमार्फत असार २७ गतेदेखि वैदेशिक रोजगारीमा गएकालाई आइपीओ बिक्री खुला गर्ने भएको हो।लगानीकर्ताले असार २७ देखि साउन १० गतेसम्म आइपीओमा आवेदन दिनसक्ने छन्। कम्पनीले प्रति कित्ता सेयरको मूल्य ८२०.८० रुपैयाँ तोकेको छ।
कम्पनीले कुल साधारण सेयर अर्थात ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशतले हुन आउने १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको छ।आइपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २० हजार कित्ताका लागी आवेदन दिन पाइनेछ। जसअनुसार आइपीओ भर्नका लागि न्यूनतम ४१ हजार ४० रुपैयाँ चाहिन्छ।उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी स्पिनिङ मिल्सले सर्वसाधारणमा आइपीओ बिक्री गर्न २०८० माघमा बोर्डमा आवेदन दिएको थियो।
रिलायन्स स्पिनिङ मिल्सले गत माघमा बोलकबोलमार्फत संस्थागत लगानीकर्ताहरुका लागि सेयर जारी गरेको थियो।कम्पनीले तोकेको अधिकतम मूल्य ९१२ रुपैयाँमा संस्थागत लगानीकर्ताले सेयर किनेपछि सर्वसाधारणका लागि त्यसको १० प्रतिशत कम सेयर मूल्य तोकिएको हो।हाल कम्पनीको जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँ छ। यस कम्पनीकका अध्यक्ष पवन गोल्यान हुन्। कम्पनीमा उनको २१.९५ प्रतिशत सेयर छ। कम्पनीमा शशीकान्त अग्रवालको ४४.९३ प्रतिशत र अक्षय गोल्यानको २२.९८ प्रतिशत सेयर छ।
सेयर बिक्रीबापत सर्वसाधारणबाट कम्पनीले ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँ उठाउनेछ।कम्पनीले सन् २०२२/२३ मा १० अर्ब ६० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीले १० अर्ब १० करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो।उद्योगको जडित क्षमता वार्षकि ४२ हजार ७५औ टन हो। कम्पनीले उत्पादन गर्ने सिन्थेटिक यार्नको मुख्य बजार भारत र टर्की हो। कुल बिक्रीको ७०-७५ प्रतिशत हिस्सा यी दुई देशमा निर्यात गरेर कम्पनीले आम्दानी गर्दै आएको छ।