भूकम्पमा मृत्यु भएकाको परिवारलाई राहत रकम दिन शुरु

जाजरकोट : जाजरकोटमा भूकम्पबाट मृत्यु भएका मृतकका आफन्तलाई सोमवार राहतस्वरुप २ लाख रुपैयाँ रकम दिन शुरु गरिएको छ।

भेरी नगरपालिकाबाट शुरु भएको यो अभियान नलगाड, बारेकोट, कुशे, छेडागाडमा पनि शुरु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

परिवारलाई प्रतिमृतक राहतस्वरुप २ लाख रुपैयाँ र एकैघरका धेरै मृतक भए थप १ लाखका दरले रकम उपलब्ध गराउने नीति रहेको प्रजिअ सुनारले बताए।

जाजरकोटमा गएको भूकम्पमा १०१ जनाले ज्यान गुमाएका थिए। मंगलवारसम्म सबैलाई राहत रकम मृतकका परिवारलाई २ लाखका दरले दिइसक्ने लक्ष्य रहेको उनको भनाइ छ।