रेमिटेन्स २३ प्रतिशतले बृद्धि, १० महिनामा भित्रियो १० खर्ब रुपैयाँ

काठमाडौँ / चालू आर्थिक वर्षको १० महिनामा १० खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स वृद्धि हुँदै १० खर्ब ५ अर्ब १५ करोड रुपैयाँ भित्रिएको जनाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३।७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९७६ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १८५.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।