अमेरिकाले सहयोग सु्चारु गरेन भने ४ वर्षमा ६० लाख मानिसको मृत्यु हुने अनुसन्धानकर्ताहरूको चेतावनी

काठमाडौँ-– एचआइभी चिकित्सक र अनुसन्धानकर्ताहरूले एड्स विरुद्धको विश्वव्यापी लडाइँमा सहयोग जारी राख्न अमेरिकासँग आग्रह गरेका छन ।विनाशकारी कोष खारेज गर्ने ट्रम्प प्रशासनले निर्णय लिएपछि यसले प्रभावितलाई हानि पुगेको भन्दै चिकित्सक र अनुसन्धानकर्ताहरुले कोष कटौतीको निर्णय फिर्ता लिन आग्रह गरेका हुन ।अमेरिका ऐतिहासिक रूपमा मानवीय सहायताको विश्वको सबैभन्दा ठूलो दाता हो ।तर राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्केपछि अन्तर्राष्ट्रिय सहायतामा भारी कटौती गरेका छन ।
मानवीय संस्थाहरूले कटौतीले एचआइभी, क्षयरोग, मलेरिया र अन्य स्वास्थ्य समस्याहरूसँग लड्ने विश्वव्यापी प्रयासहरूमा ठूलो प्रभाव पारेको बताएका छन ।यसले लाखौँ जीवनलाई जोखिममा पारेको चेतावनी समेत उनीहरुले दिएका छन् ।अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई सयौँ उच्च–प्रोफाइल एचआइभी चिकित्सक, शोधकर्ता र जनस्वास्थ्य विज्ञहरूले हस्ताक्षर गरेको खुला पत्र हस्तान्तरण गर्दै सरकारलाई आफ्नो मार्ग परिवर्तन गर्न आह्वान गरेका छन ।अमेरिकाले सहयोग जारी राखेन भने ४ वर्षमा अनुमानित ६० लाख मानिसको मृत्यु हुने उनीहरुले प्रक्षेपण गरेका छन । अहिलेसम्म भएका प्रयासहरु पनि कमजोर हुने उनीहरुको दावी छ ।

Comments (0)
Add Comment