सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएकाे छ ।

पछिल्लो समय निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । आज छापावाला सुनको मूल्य १ लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आइतबार भने एकै दिन १८ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।