गैंडाकोट थुम्सीमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट थुम्सीमा सडक भासिदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले दिएको जानकारी अनुसार सडक भासिएको ठाउँमा ट्रकसमेत फसेकोले त्यसलाई निकाल्ने प्रयास गरिएको छ ।
भाँसिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुवाहक बसमा एक्कासि ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् ।
ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन पुगेको थियो। नारायणगढ बुटवल सडक विस्तार आयोजनाले अवरुद्ध सडक खुलाउन अझै १ घण्टा लाग्ने जनाएको छ । सोही सडकखण्डको दाउन्नेमा अबरुद्ध बनेको सडक भने सञ्चालनमा आइसकेको आयोजनाले जानकारी दिएको छ ।