जनयुद्ध दिवसमा बिदा दिने निर्णयप्रति राप्रपाको असन्तुष्टि, बैठक बहिस्कार

फागुन १ गते जनयुद्ध दिवसको बिदा दिने निर्णयमा सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी असन्तुष्ट बनेको छ। राप्रपाका मन्त्रीहरुले बैठक नै बहिस्कार गरेका हुन्। आइतबारको मन्त्रिपरिषद बैठकले जनयुद्धको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

२०५२ सालको फागुन १ गते नेकपा माओवादीले प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु गरेको थियो। जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड नेतृत्वको सरकारले सोही दिनको अवसरमा विदा दिने निर्णय गरेपछि राप्रपा भने असन्तुष्ट बनेको हो।

राप्रपाबाट उपप्रधानमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री एवम् उर्जामन्त्री, शहरी विकास मन्त्रीमा बिक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा राज्यमन्त्री दीपकबहादुर सिंह छन्।

सिंह मन्त्रिपरिषद बैठकमा सहभागी नहुने भएपनि अरु मन्त्रीले पनि बहिस्कार गरेका हुन्। राप्रपाले कुनै राजनीतिक दलको अगुवाइमा भएको हिंसात्मक द्वन्द्वलाई उत्सवको रुपमा मनाउनु दुर्भाग्य र बिडम्बनापूर्ण भएको बताएको छ।

यसअघि राप्रपाको माग अनुसार पृथ्वी जयन्तीमा पुस २७ गते बिदा दिइएको थियो।

 

Comments are closed.