रुसले युक्रेनमा एक दिनमै ७० मिसाइल प्रहार गर्यो

काठमाडौं । रुसले शुक्रबार युक्रेनमा ७० वटा मिसाइल प्रहार गरेको छ । मिसाइल प्रहारबाट युक्रेनको उर्जा केन्द्रसहित अन्य महत्वपूर्ण भवनहरुमा क्षति पुग्न गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

जारी युद्धको विगत २९७ दिनको अवधि मध्य शुक्रबारको हमला सबै भन्दा ठूलो हमला रहेको पनि रिपोर्टमा उल्लेख छ । मिसाइल प्रहारबाट २ जनाको मृत्‍यु भएको जनाइएको छ ।

रुसले सम्पूर्ण हमला युक्रेनको राजधानी किभ र उत्तरपुर्वी क्षेत्रमा लक्षित गरेको थियो । रुसी आक्रमणले खार्किभ र सुमी क्षेत्रहरूमा पूर्ण रूपमा विद्युत कटौती भएको छ। जसका कारण पूरै युक्रेनले ब्ल्याकआउटको सामना गरिरहेको जनाइएको छ ।

एक अधिकारीलाई उध्रदत गर्दै सिएनबिसीले जनाए अनुसार हाल युक्रेनमा बिजुली आपूर्ति आधामा झारिएको छ भने अस्पताल, खानेपानी सुविधा र ढल प्रशोधन प्लान्टहरू जस्ता महत्वपूर्ण स्थानहरूमा मात्र विद्युत आपूर्ति गरिएको छ ।

हमलापछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई ‘रकेटका पूजारी’ को संज्ञा दिदै नेटो देशहरुसँग सहयोगको अपिल गरेका छन् । यस्तै किभका मेयरले हमलाबाट सुरक्षित रहनका निमित्त आमनागरिकहरुलाई बंकर भित्र रहन आग्रह गरेका छन् ।

Comments are closed.