हामीलाई थाहा नदिई समाजवादी मोर्चा घोषणा गरियो: सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफूहरूलाई थाहा नदिईकनै समाजवादी मोर्चा घोषणा गरिएको बताएका छन् ।
सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टीलाई थाहा नै नदिईकन समाजवादी मोर्चा नेपालको घोषणा भएको बताएका हुन् । मोर्चा निर्माणको लागि विगतमा आफ्नो पार्टीसँग पनि छलफल चलेको भएपनि निर्णायक बेलामा आफूहरूलाई खबर नभएको बताएका हुन् ।
उनले केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईका बीचमा तत्काल समाजवादी मोर्चा गठन नहुने र गर्दा सल्लाहमै गर्ने सहमति भएपनि अचानक घोषणा हुनुले आश्चर्य लागेको बताए ।
उनले भने ‘हामीलाई थाहा नै छैन । विगतमा यो विषयमा छलफल चलेको हो । यो बीचमा हामीसँग खासै उहाँहरूले सम्पर्क गर्नुभएन । चारवटा दलहरूको बिचमा गृहकार्य चलिराखेको छ भन्नेखालको अनौपचारिक तवरबाट हामीले खबरहरू प्राप्त गरी नै राखेका थियौँ । र पछिल्लोचोटी अब मोर्चा घोषणा नै हुन्छ भन्नेखालको बजार हल्ला भइसकेपछि म आफू स्वयंले पनि डा. बाबुराम भट्टराईलाई के हो त यो हाम्रो आफ्नो कन्सर्नपनि जनताको बीचमा हामीले त राख्नुपर्छ । त्यसो हुनाले एकचोटी प्रधानमन्त्रीज्यूसँग भेट्दा राम्रो होला भनेर मैले नि सुझाव गरेको थिएँ । उहाँले पनि त्यो कोसिस गरिराख्नुभएको रहेछ । प्रधानमन्त्रीसँग डा. बाबुराम भट्टराईको भेट भयो । भेट पछि सबै कुरा सार्वजनिक भएको छ । उहाँले भन्नुभएको कुरा होइन अहिले तत्काल त्यो गठन नहुने भयो । जे गरिन्छ हामी सल्लाहबाटै गरिन्छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो । त्यसकारणले यो शंका, आशंका, बजारहल्लाको पछाडि लाग्नु हुँदैन है भनेर व्यक्तिगत रूपमा म सँग पनि भन्नुभएको हो । बाहिर पनि उहाँले त्यही ढङ्गको सन्देश दिनुभयो । फेरि एकाएक दुई दिन पनि नबित्दाखेरी नै जुन मोर्चा घोषणा भइराखेको छ, म आफैँलाई पनि अलिकति आश्चर्य त लागेको छ । खैर जे होस् यो विषयमा अहिले धेरै टीकाटिप्पणी गर्नुभन्दा पनि उहाँहरूले समाजवादी मोर्चा बनाउनुभएको छ । राम्रो सँग चलाउनुहोस् । त्यसमा हाम्रो शुभकामना छ । विरोध केही छैन । तर बजार हल्ला चलेको जस्तै साँच्चै कोही व्यक्ति कसैले फलानो बसे म बस्दिनँ । फलानो पार्टी रहे हाम्रो पार्टी रहँदैन भनेर यदि भनेको हो भने यो मोर्चाले सार्थकता त्यति पाउलाजस्तो मलाई लाग्दैन ।’
सहअध्यक्ष श्रेष्ठले समाजवादी मोर्चा नेपालले देशलाई समाजवादी बनाउन कामयाबी हुन्छ अथवा सत्ता समीकरणमा मात्रै रुमल्लिन्छ भन्ने प्रश्न उब्जिएको बताए । उनले साचो अर्थमा समाजवाद निर्माण गर्ने उद्देश्यले मोर्चा बनेको भए आफ्नो पार्टीपनि त्यसमा सहभागी हुने बताए ।
सत्ता समीकरणका लागि अङ्क गणितीय दाउपेचमा मोर्चा बनेको हो भने मोर्चा बारे सोच्नुपर्ने बताए । यद्यपी समाजवादी मोर्चालाई अहिले नै शंका गर्नु नहुने उनको भनाई छ । उनले सञ्चारमाध्यममा आएजस्तो उपेन्द्र यादवले डा. बाबुराम भट्टराईलाई मोर्चामा आउन नदिएको हो भने त्यस्तो साँघुरो सोचाइबाट समाजवाद निर्माण हुन नसक्ने बताए ।
उनले भने ‘हामीले दुई वर्ष अगाडी नै नेपालमा एउटा समाजवादी मोर्चा आवश्यक छ भनेर त्यसको आवश्यकता र औचित्य माथि सार्वजनिक रूपमा नै हामीले बहस प्रारम्भ गरेका थियौँ । त्यो बहस यहाँसम्म आइपुग्दाखेरी अहिले समाजवादी मोर्चा जसरी निर्माण भएको छ, त्यो बहसले सार्थकता पायो या त्यो बहस कतै डिरेल भयो भन्ने ढङ्गको दुईवटा प्रश्नहरू अगाडी आएको देखिन्छ । हिजो जुन समाजवादी मोर्चा घोषणा भएको छ, त्यो समाजवादी मोर्चा हाम्रो नेपालको संविधानको प्रस्तावनामा नेपाल समाजवादउन्मुख रहने भन्ने जुन लेखिएको छ । नेपाललाई समाजवादी बनाउनको निम्ति त्यो मोर्चा कामयाबी हुन्छ कि या अहिलेकै सत्ता समीकरणमा त्यो मोर्चा रुमल्लिन्छ, यो हामीले अलिकति प्रतीक्षा गर्नुछ । अलिकति धैर्यता गरेर हेर्नुछ । त्यो हेरिसकेपछि हामी के गर्छौँ ? निर्णय गर्छौँ । साँच्चै समाजवाद निर्माण गर्ने उद्देश्यले बनेको छ भने उहाँहरूले नबोलाए पनि हामी सहभागी हुन तयार छौँ । अरू पनि तयार हुन्छन् । तर उही सत्ता समीकरणका लागि मात्रै हो भने, यसलाई अङ्क गणितीय हिसाबले मात्रै हेरिएको या त्यो ढङ्गले दाउपेच गर्न खोजिएको हो भने त हेरौँ । अहिले नै फेरी धेरै शंका नगरौँ । यदि उपेन्द्रजीले नै बाबुरामजीलाई ल्याउन हुँदैन । या जनता समाजवादी पार्टीले नेपाल समाजवादी पार्टीलाई यो मोर्चामा ल्याउनु हुँदैन भनेको रहेछ भने, र नल्याइएको हो रहेछ भने त्यो त कसरी समाजवादी मोर्चा हुन्छ ? त्यति साँघुरो सोचाइबाट एउटा बृहत्तर, उदात्त ढङ्गको समाजवाद कसरी निर्माण हुन्छ ? यो प्रश्न त उठ्छ ।’
सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टी मोर्चामा सहभागी नहुनुले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असर नपार्ने बताए । उनले राजनीतिक एजेन्डा, मुद्दा, विचारका आधारमा दुई पार्टीको बीचमा एकता हुने उल्लेख गरे । समाजवादी मोर्चामा सँगै नभएका कारण प्रधानमन्त्री दाहाल र बाबुरामको सम्बन्ध नबिग्रिएको उनको भनाई छ ।
उनले भने ‘त्यसले खासै असर गर्दैन । मुख्यकुरा व्यक्तिको सम्बन्ध होइन । मुख्यकुरा विचारको कुरा हो नि । नेपाल समाजवादी पार्टीले बोकेको विचार, सिद्धान्त र राजनीतिक मुद्दा र माओवादी केन्द्रले बोकेको विचार, सिद्धान्त र राजनीतिक मुद्दाका बीचमा एउटा साम्यता भएको कारणले गर्दाखेरी दुईवटा पार्टीको बीचमा एकताको कुरा चलेको हो । प्रचण्डले बाबुरामको मुख हेरेर या बाबुरामले प्रचण्डको मुख हेरेर एकता प्रक्रियाको कुरा त चलेको होइन नि । त्यसमा विचारकै कुरा छ, राजनीतिक एजेन्डाकै कुरा छ । त्यसकारण यी दुईवटा पार्टीको बीचमा राजनीतिक एजेन्डा, मुद्दा, बिचारको बिचमा सापेक्षिक रूपमा जुन समानता छ त्यो समानताको कारणले एकता गरौँ भन्ने हो । त्यसले गर्दा नेताहरूको सम्बन्धले यत्रो वैचारिक कुरालाई नै, राजनीतिक मुद्दालाई नै यसले तलमाथि पार्छ जस्तो मलाई लाग्दैन ।’
उनले नेकपा(माओवादी केन्द्र)सँग नेसपाको एकता प्रक्रिया अगाडी बढिसकेको पनि बताए ।  नेसपाले एकताको आधारपत्र माओवादी केन्द्रलाई बुझाइसकेको र माओवादी केन्द्रको औपचारिक जवाफ कुरेको उनले बताए ।