भारतीय दूतावासद्वारा ‘संगीत सुकुन’सांगीतिक कार्यक्रमको आयोजना

काठमाडौं : भारतीय दूतावासले संगीत सुकुन नामक सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपालका मन्त्री र नेताहरूको सहभागितामा दूतावासले संगीत उत्सव मनाएको हो।

भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा शुक्रबार साँझ भारतीय सांगीतिक समूह कर्नाटिक २.० र नेपाली सांगीतिक समूह कुटुम्बले उक्त कन्सर्टमा आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा भारतको ७४औं गणतन्त्र दिवस पनि मनाइएको थियो।

कर्नाटिक २.० सांगीतिक समूहले परम्परागत कर्नाटक राग र पुराना बलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेको थियो। त्यस्तै कुटुम्बले नेपाली मौलिक संगीत प्रस्तुत गरेको थियो। दुई सांगीतिक समूहले ‘तालको पानी माछीले खानी…’ बोलको नेपाली लोक गीत पनि एकसाथ प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधव कुमार नेपाल, बाबुराम भट्टराई, वरिष्ठ नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोको उपस्थिति थियो। कार्यक्रममा परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र प्रधान सेनापति प्रभुराम शर्माको उपस्थिति रहेको थियो।

Comments are closed.