सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १७ जनाको शव आफन्तले बुझे

विदेशी अरिफ रेडाको शव शिक्षण अस्पतालमै छ

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विदेशी अरिफ रेडाको बाहेक सबै शव आफन्तले बुझेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार शुक्रबार ६ वटा शव आफन्तले बुझेकामा आज बाँकी ११ शव बुझेका हुन् । त्रिवि शिक्षण अस्पतालले सबैको पोस्टमार्टम बिहीबारै सकेको थियो । परिवारले दिएको विवरणकै आधारमा सबै शव पहिचान भएको अस्पतालले जनाएको छ ।
यता सौर्य एयरलाइन्सले पीडित परिवारलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ । कम्पनीले पीडित परिवारजनलाई कम्पनीका तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सद्भाव रहने आश्वासन दिएपछि हिजोदेखि परिवारले शव बुझ्न थालेका हुन् ।
गत बुधबार मर्मतका लागि पोखरा उडेको विमान त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । पाइलटबाहेक विमानमा रहेका सबै १८ जनाको मृत्यु भएको थियो । पाइलट मनीषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।