Trending Now

निबन्धकृति ‘संवेदनाका स्वरहरु” को २५ वर्ष

काठमाडौं । चार निबन्धकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशको संयुक्त निबन्धकृति ‘संवेदनाका स्वरहरू’ प्रकाशित भएको २५ वर्ष पुगेको छ ।

सोहीअवसरमा शङ्कर लामिछाने प्रतिष्ठानले उक्त निबन्धकृतिमाथि परिचर्चा कार्यक्रमको आयोजना गर्दै निबन्धकारितामाथि विहङ्गम छलफल गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा समालोचक प्रा.डा. ज्ञानू पाण्डेले कृतिकारहरूलाई बुझ्न ‘संवेदनाका स्वरहरू’भित्र पस्नुपर्ने बताइन् ।

उनले चारै निबन्धकारहरूले कलात्मक निबन्ध प्रस्तुत गरेको उल्लेख गर्दै २५ वर्षपछि पनि चारै स्रष्टा निबन्ध लेखनमा क्रियाशील रहेको बताइन् ।

अर्का समालोचक महेश पौडेलले यी चारै निबन्धकारले निबन्धलाई क्लिष्टताबाट मुक्त गरेको बताए । उनले साहित्यमा प्रयुक्त सिद्धान्त र शब्दावलीले पाठकबीच आतङ्क सिर्जना गरिरहेको तर्क पनि गरे ।

समारोहमा चारै स्रष्टाले २०५४ सालमा ‘संवेदनाका स्वरहरू’ प्रकाशन गर्दाको पीडा र खुसी साटे । ३५ रुपैयाँ मूल्य राखिएको कृति बेच्दै हिँडेको र बिक्रीपछि मात्रै प्रेसको पैसा तिरेको क्षण स्मरण गरे ।

Comments are closed.