वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको ‘मान्छेको मुटु’ लोकार्पण

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको ‘मान्छेको मुटु’ लोकार्पण

 

काठमाडौँ- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायद्वारा लिखित ‘मान्छेको मुटु’ लोकार्पण भएको छ । वरिष्ठ स्वास्थ्य पत्रकार तथा साधना स्वास्थ्य मासिकका सम्पादक लक्ष्मण अधिकारीले सम्पादन गरेको वरिष्ठ मुटु रोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको दोस्रो कृति “मान्छेको मुटु“ माघ २७ गते लोकार्पण भएको हो।
नेपाल ह्दयरोग निवारण संस्थाका अध्यक्ष डा सत्यनारायण सुवाल र नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष प्राडा रत्नमणि गजुरेलको विशेष आतिथ्यमा उक्त पुस्तकको लोकार्पण गरिएको हो ।
कार्यक्रममा नेपाल ह्दयरोग निवारण संस्थाका अध्यक्ष सत्यनारायण सुवालले पुस्तकमा स्वास्थ्यका अनुसन्धानको तथ्यका बारेमा समेत प्रष्ट्याइएको बताए । उनले स्वास्थ्य निति, पैरवी, स्वास्थ्यका जल्दाबल्दा समस्या समेत पुस्तकमा समेटिएको बताए । उनले पुस्तक मेडिकल र ननमेडिकल व्यक्तिलाई समेत उपयोगी हुने बताए ।
पुस्तकमा अस्पतालले उपचारमा नाममा हुने गलत प्रवृत्ति समेत समेटिएको छ । प्राडा.रत्नमणि गजुरेलले पुस्तक अध्ययन गरेपछि डाक्टर भएर बिरामीको उपचार गर्नुमात्रै ठुलो होइन रहेछ भन्ने बुझिएको बताए । डा गजुरेलले बिरामीको उपचारभन्दा बाहेक साहित्य, कलामा धेरै विषय समेटिएको बताए । पुस्तकको नाम सुन्दा स्वास्थ्यका विषय मात्रै लागेपनि वास्तवमा समग्र स्वास्थ्य, तथा साहित्यमा केन्द्रीत रहेको बताए । ‘म एउटा मुटुको डाक्टर, हजारौंको मुटु खोलेको छु तर मन र मुटु कहाँ हुन्छ भन्ने कतै भेटेको छैन,’ डा. गजुरेलले भने,“ पुस्तक बाट मन मुटु कहाँ हुन्छ भन्ने स्पष्ट पारिएकोछ ।”पुस्तकमा मुटुसम्बन्धी विविध रोग, त्यसबाट बच्ने उपाय र उपचारसम्बन्धी आम मानिसका अनेकौं जिज्ञासाको सरल जवाफ दिने प्रयास गरिएको छ । पुस्तकको बीचबीचमा प्रश्नोत्तर शैली अपनाइएको छ, जसले मुटुसँग सम्बन्धित आम मानिसको मनमा उत्पन्न हुने कोतुहल्ता मेट्न सहयोग पुग्ने लेखक डा. उपाध्यायको भनाईछ । उनका अनुसार पुस्तकमा मुटुको बारेमा तथ्य परक र भावनात्मक पक्षलाई उतारिएको छ ।
यस्तै मुटु र मस्तिष्कको सम्बन्ध र समन्वयबारे पनि व्याख्या गरिएको छ । ‘यो मुटु कहिल्यै थाक्दैन, दिनमा एक लाख पटक धड्किन्छ, जन्मदेखि अन्तिम समयसम्म काम गर्छ, मुटुमा आफ्नै किसिमको सानो ब्रेन पनि हुन्छ, जसले मुटुलाई चलाउँछ,’ उनले भने, ‘मेरो डाक्टरी जीवनमा उठेका कैयौं प्रश्नको उत्तर हरेक बिरामीलाई दिन सक्ने सम्भावना नभएकाले किताबमा दिने प्रयास गरेको छु ।’

मान्छेको मुटु नामक पुस्तक ३१० पृष्ठको रहेको छ, यसमा १७ वटा शीर्षक समावेश गरिएका छन् । ६ सय मूल्य रहेको यो किताब चिकित्सक, बिरामी, सर्वसाधारण, विद्यार्थी सबैका लागि उपयोगी छ । राज्यले यस्ता किताब पाठ्यक्रममै समेटन सके अझ उपयोगी हुने राय समेत पुस्तक लोकापर्णमा सहभागीहरुले दिएका थिए ।